कर्जा लगानी गर्न १०% ब्याजमै ऋण लिने ग्राहक खोज्दै बैंक, साथै आकर्षक स्कीम

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जाको माग नभएपछि लगानी बढाउने अनेक उपाय खोजिरहेका छन् । बैंकहरूले कर्पोरेट व्यवसायीलाई बोलाएर ऋण लिन अनुरोध गर्नेदेखि ब्याजदर घटाएर कर्जाका विभिन्न स्कीमहरू ल्याउन थालेका हुन् ।

अहिले बैंकिङ प्रणालीमा साढे ३ खर्ब बढी लगानी योग्य रकम थुप्रिएको छ । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न सकेको छैन भने कर्जा लगानी उल्टै घट्दो क्रममा छ । साउनको तेस्रो सातासम्म मात्रै बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी २३ अर्बले घटेको छ ।

कर्जाको माग नबढेपछि बैंक तथा वित्तीय संस्थाहरू कर्जा विस्तारका लागि मुख्यगरी दुई वटा उपाय लगाउन थालेका छन् । अहिले बैंकहरूले कर्जा लगानी बढाउन सस्तो ब्याजदरमा आकर्ष स्कीमहरू ल्याउन थालेका छन् भने अर्कोतर्फ ठूला ग्राहकलाई बैंकमै बोलाएर सस्तो ब्याजदरमा कर्जा दिने प्रस्ताव गर्न थालेका छन् ।

गत वर्षको दोस्रो त्रैमाससम्म तरलता अभावका कारण ऋण नपाइने अवस्था रहेकोमा अहिले बैंकले बोलाएरै ऋण लिन आग्रह गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारीले बताए ।

‘ऋणको पुरानै किस्ता तिर्न नसकेको अवस्थामा बैंकले अहिले कर्जाको माग नभएपछि हामीलाई ऋण लिन फोन गरेर बोलाइरहेको छ,’ उनले भने, ‘गत वर्ष लिएको ऋणको ब्याज १४ प्रतिशत तिर्नु परिरहेको छ । उनीहरूले त्यो घटाएका छैनन् । तर, अहिले ९/१० प्रतिशत ब्याजदरमा ऋण लिन भनिरहेका छन् ।’

आर्थिक वर्षको सुरूदेखि नै बैंकिङ व्यवसायमा संकुचन कायम रहने देखिएपछि बैंकहरूले घरकर्जा, हायरपर्चेज कर्जा, सेयरधितो लगायत व्यवसायीक क्षेत्रमा लगानी बढाउन कर्जाको अफर ल्याइरहेका छन् ।

अहिले वित्तीय प्रणालीमा स्रोत थुप्रिँदा बैंकको औसत आधारदर एकल अंकमा झरेको छ । तर, अझै ऋणको माग भने बढेको छैन । गत वर्षदेखि नयाँ उद्योग, व्यवसायमा लगानी बढ्न सकेको छैन भने बजारमा माग नहुँदा व्यापारीले एलसी (वस्तु आयातका लागि राखिने बैंक ग्यारेन्टी)खोलिरहेका छैनन् ।

जसको असर बैंकको व्यवसायमा देखिने भएको छ । गत वर्षदेखि शिथिल अर्थतन्त्रका कारण अझै पनि आर्थिक गतिविधि चलाएमान हुन सकेको छैन । गत वर्षमा बैंक तथा वित्तीय संस्थाले लक्ष्यको ३ प्रतिशत मात्रै कर्जा ल गानी गर्न सकेका थिए । त्यसको असर वार्षिक वित्तीय विवरणमा देखिएको थियो ।

यस वर्ष पनि व्यवसाय संकुचन हुँदा सोही अवस्था दोहोरीने देखिएको बैंकरहरू बताउँछन् । नेपाल राष्ट्र बैंकले चालु आवमा ११.५ प्रतिशतले निजी क्षेत्रतर्फ कर्जा विस्तारको लक्ष्य लिएको छ । तर, बैंकहरूले आवको पहिलो महिनासम्म कर्जा लगानी सामान्य पनि बढाउन सकेका छैनन् ।

बैंकरहरू अहिले पनि कर्जाको माग बढ्न नसकेको बताउँछन् । अर्थतन्त्रमा देखिएको असर माग र आपूर्ति चक्रमा परेकोले ऋण लगानी नभइरहेको उनीहरूको भनाइ छ ।

लगानी बढाउन कर्जा योजना

कर्जा लगानी बढाउन बैंकले घरदेखि सवारी कर्जाका अफरहरू ल्याइरहेका छन् । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । यस अन्तर्गत बैंकले २० वर्षसम्मका सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने जनाएको छ ।

बैंकले ७ वर्षको लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदरमा सो योजना ल्याएको जनाएको छ ।

यस्तै, एनआइसी एसिया बैंकले घर, सेयर धितो र साना व्यवसाय कर्जा योजना ल्याएको छ । ‘अठोट’ अन्र्तगत बैंकले न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको घर कर्जा योजना ल्याएको छ ।

यस बैंकले साना व्यवसाय कर्जामा न्यूनतम २५ लाखदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । प्रभु बैंकले घर, सवारीकर्जा योजना ल्याएको छ । एनएमबी बैंकले एजुकेशन लोन अफर ल्याएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उद्यमशील कर्जा योजना ल्याएको छ ।

यसैगरी, कुमारी, सानिमा, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, नेपाल, कृषि विकास, लक्ष्मी सनराइज लगायत बैंकले लगानी बढाउन विभिन्न कर्जा योजना ल्याएर ग्रहाक आकर्षण गरिरहेका छन् ।

थुप्रियो तरलता

नेपाल राष्ट्र बैंकका अनुसार अहिले वाणिज्य बैंकको औसत सीडी रेसियो साढे ८३ प्रतिशत छ । जसअनुसार बैंकहरूसँग अहिले ऋण लगानी गर्न सक्ने साढे ३ खर्ब रुपैयाँ बढी स्रोत छ । उक्त स्रोत माग नहुँदा प्रणालीमै थुप्रिएर बसेको छ ।

आर्थिक वर्षको पहिलो महिना साउन २८ सम्म बैंकको कुल कर्जा लगानी ४ प्रतिशतले घटेको छ । गत असार मसान्तसम्म ४८ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी पुगेकोमा अहिले ४८ खर्ब ५१ अर्ब रुपैयाँमा सिमित भएको छ ।

यस अवधिमा निक्षेप पनि १ खर्ब ३९ अर्ब रुपैयाँले घटेको छ । गत असारसम्म ५७ खर्ब ४० अर्ब कुल निक्षेप पुगेकोमा यो आवको पहिलो महिनाको गत आइतबारसम्म घटेर ५६ खर्ब १ अर्ब रुपैयाँमा सिमित भएको छ ।

औसतमा अहिले वाणिज्य बैंकको कर्जाको ब्याजदर १२.५३ प्रतिशतमा झर्दा समेत कर्जाको माग बढेको देखिँदैन । गत वर्षको यस्तो ब्याज १८ प्रतिशतसम्म पुगेको थियो ।

 

अब निजी कम्पनी पब्लिकमा रुपान्तरण हुने बित्तिकै आइपीओ जारी गर्न पाउने Read Previous

अब निजी कम्पनी पब्लिकमा रुपान्तरण हुने बित्तिकै आइपीओ जारी गर्न पाउने

बिजुली बेचेर ८ अर्ब कमाएको माथिल्लो तामाकोशी पौने ४ अर्ब घाटामा Read Next

बिजुली बेचेर ८ अर्ब कमाएको माथिल्लो तामाकोशी पौने ४ अर्ब घाटामा