काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको खुद नोक्सानी उल्लेख्य रुपमा बढेको छ ।
कम्पनीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नोक्सानी ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनी २ अर्ब ३१ करोड रुपैयाँ नोक्सानीमा थियो । विद्युत् बिक्री आम्दानी र संचालन नाफा बढे पनि वित्तीय खर्च बढ्दा कम्पनीको नोक्सानी उल्लेख्य रुपमा बढेको हो । बैंकिङ प्रणालीमा भएको ब्याजदर वृद्धिले कम्पनीको नोक्सानी ह्वात्तै बढाएको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १४.२१ प्रतिशतले बढेर ८ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यस्तै, संचालन आम्दानी ३.५३ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च २८.१० प्रतिशतले बढेर ७ अर्ब ३९ करोड पुगेको छ । यस अवधिमा कम्पनीले तिर्न बाँकी दीर्घकालीन ऋण ७३ अर्ब १५ करोड र अल्पकालीन ऋण ६ अर्ब रुपैयाँ रहेको छ ।
हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ ६ अर्ब ९१ रुपैयाँ ऋणात्मक छ ।
नोक्सानी बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३५.४९ रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३४.१७ रुपैयाँ छ ।