काठमाडौं । चन्द्रगिरि हिल्स प्रालिको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आव २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७९६.४१ प्रतिशतले बढेको छ ।
गत असार मसान्तसम्म कम्पनीले १५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा १३ करोड ४३ ला रुपैयाँ धेरै हो । अघिल्लो वर्ष कम्पनीले १ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पछिल्लो समय पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार आएसँगै कम्पनीको आम्दानी बढ्दा नाफामा जान थालेको हो । स्वदेशी तथा विदेशी पर्यटकको आवगमन बढ्दा कम्पनीको व्यवसायमा आर्कषक सुधार आएको छ ।
समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ३६.५४ प्रतिशतले बढेर ९१ करोड ३४ लाख रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको अन्य आम्दानी भने ३९.३४ प्रतिशतले घटेर ९७ लाखमा सीमित भएको छ ।
हाल १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने २३ करोड ४४ लाख रुपैयाँ ऋणात्मक छ ।
नाफामा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्ष १.१० रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी गत वर्ष बढेर ९.८५ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ८४.७२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४६.६३ गुणा छ ।