शिवम् सिमेन्टको नाफा आधा घट्यो, यस्तो छ कारण

काठमाडौं । शिवम् सिमेन्टको खुद नाफामा उच्च गिरावट आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५६.२१ प्रतिशतले घटेको छ ।

कम्पनीले गत असार मसान्तसम्म ३० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ करोड रुपैयाँ कम हो । कम्पनीले गत वर्षको सोही अवधिमा ६९ करोड ७ लाख नाफा कमाएको थियो ।

अन्य आम्दानी बढे पनि बिक्री आम्दानी घट्दा शिवम्को नाफामा भारी गिरावट आएको हो । समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी १६.४८ प्रतिशतले घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ९ अर्ब २६ करोड रुपैयाँ थियो।

कम्पनीको अन्य आम्दानी भने ६८.६६ प्रतिशतले बढेर३६ करोड ३५ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च ९.६५ प्रतिशत घटेर ७ अर्ब ८१ करोडमा झरेको छ ।

हाल ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ७१ करोड संचिति छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १५.७०रुपैयाँबाट घटेर ६.८७ रुपैयाँमा आएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६.२४रुपैयाँ छ ।

ब्रेक सु’ भित्रको सुन आज गालिँदै Read Previous

ब्रेक सु’ भित्रको सुन आज गालिँदै

चन्द्रागिरि हिल्सको नाफामा ९ गुणा बढ्यो, प्रतिसेयर आम्दानी कति ? Read Next

चन्द्रागिरि हिल्सको नाफामा ९ गुणा बढ्यो, प्रतिसेयर आम्दानी कति ?