काठमाडौं । अर्थतन्त्रमा देखिएको असर जीवन बीमा व्यवसायमा पनि परेको छ । आर्थिक गतिविधिमा सुस्तता आउँदा बीमा कम्पनीको व्यवसाय पनि खस्किएको हो ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० मा जीवन बीमाको प्रथम शुल्क एकतिहाईले घटेको छ । अघिल्लो वर्ष ४१ अर्ब ४४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका जीवन बीमा कम्पनीहरूले गत वर्ष ३१ अर्ब २३ करोड रुपैयाँ आर्जन गरेका छन् । यो २०७८/७९ को तुलनामा २४.६४ प्रतिशतले कम हो ।
प्रथम बीमा शुल्क बीमा कम्पनीले आफ्नो नयाँ बीमा लेख बिक्री गरेबापत प्राप्त हुने रकम हो । आर्थिक संकुचनले रोजगारी तथा मानिसहरूको आयस्रोत खुम्चिँदा बीमा व्यवसाय प्रति मानिसहरूको आकर्षण नदेखिएको तथ्यांकले देखाउँछ ।
गतवर्ष सबै जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क अघिल्लो वर्षको तुलनामा घटेको छ । प्राधिकरणका अनुसार गत वर्ष १५ वटा जीवन र २ वटा लघुगरी १७ वटा जीवन बीमा कम्पनीले कुल १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । गत वर्ष बीमा कम्पनीहरूको कुल बीमा शुल्क २.६८ प्रतिशतले मात्रै वृद्धि भएको प्राधिकरणले जनाएको छ ।
कम्पनीहरूले गत वर्षसम्म १ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ नबिकरणीय बीमा शुल्क आर्जन गरेका भने बाँकी प्रथम बीमा शुल्क हो । यसअवधिसम्म १ करोड ४१ लाख ३७ हजार ३२१ बीमालेख सक्रिय रहेको तथ्यांकले देखाउँछ ।
सबैको घट्यो प्रथम बीमा शुल्क
गत वर्ष सबै जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क घटेको छ । सबैभन्दा धेरै प्रभुलाइफको ५४ प्रतिशत र महालक्ष्मीको ४२ प्रतिशतले प्रथम बीमा शुल्कमा गिरावट आएको छ । यद्यपि, यी दुई कम्पनी मर्जरमा गएर एकीकृत कारोबार समेत सुरु गरिसकेका छन् ।
गुँरास, प्राइम र युनियन लाइफ मर्जर भएर बनेको हिमालयन लाइफको व्यवसायमा पनि धक्का लागेको छ । यस कम्पनीको प्रथम बीमा शुल्क ४८.५५ प्रतिशतले घटेको छ ।
रिलायबल नेपालको ३७, सिटिजनको ३१, सूर्यज्योती २९, सानिमा रिलायन्स २३, एशियन २७, मेट १४, लाइफ इन्स्योरेन्स कर्पोरेसन १४, नेपाल लाइफ १० र नेशनल लाइफको १७ प्रतिशतले प्रथम बीमा शुल्क घटेको छ । सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानको प्रथम बीमा शुल्कमा १.१३ प्रतिशतले न्यून गिरावट आएको छ ।
नेपाल लाइफको वर्चस्व कायमै
जीवन बीमा व्यवसायमा नेपाल लाइफले आफ्नो बर्चस्व कायमै राखेको छ । गत वर्षपनि सबैभन्दा धेरै ६ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमा शुल्क नेपाल लाइफ एक्लैले आर्जन गरेको छ ।
यस कम्पनीले कुल बीमा शुल्क ३७ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको छ । जुन जीवन बीमाको कुल व्यवसायको २६ प्रतिशत हिस्सा हो । दोस्रोमा नेशनललाइफले ३ अर्ब ८७ करोड प्रथम बिमा शुल्क आर्जन गरेको छ । सुर्यज्योती, लाइफ इन्स्योरेन्स कर्पोरेसन र हिमालयन लाइफले २/२ अर्ब रुपैयाँ बढी प्रथम बीमा शुल्क संकलन गरेका छन् ।
सबैभन्दा कम महालक्ष्मी र प्रभुले ४९ करोड र ६६ करोड रुपैयाँ आर्जन गरेका छन् । राष्ट्रिय बीमा संस्थान ९५ करोड, मेटलाइफ १ अर्ब २४ करोड, आइएमई १ करोड ४३, रिलायबल १ अर्ब ५० करोड, एशियन लाइफ १ अर्ब ५४ करोड, सन नेपाल १ अर्ब ७६ करोड, सानिमा रिलायन्स १ अर्ब ८६ करोड र सिटिजन लाइफ १ अर्ब ९४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।