काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्कने यात्रुका लागि स्वःघोषणा कक्ष संचालनमा ल्याइएको छ । विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वः घोषणा कक्ष सञ्चालनमा ल्याएको हो ।
स्वः घोषणा कक्ष सञ्चालनमा आएसँगै अब विदेशबाट फर्केका यात्रुले आफूसँग भएको मालवस्तुको स्वः घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल बुझाइ सजिलै लैजान पाउने छन्।
यसअघि यात्रुले मापदण्ड भन्दा बढी सुनका गर-गहना, विदेशी मुद्रा, टिभी तथा मोबाइल फोन ल्याउने र स्वः घोषणा नगरी बाहिरिँदा भन्सार छली अनुसार कारबाहीको भागीदार हुने गरेका थिए।
विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार चेकजाँच एक्सरे मेसिनमा पुग्नु अगावै स्वयम् घोषणाको सुविधा पाउँछन्। त्यसका लागि भन्सार कार्यालयले नियमित कर्मचारी सहित स्वःघोषणा कक्षको व्यवस्था गरेको छ।
यसअघि त्यस्तो कक्ष नहुँदा यात्रुहरू मापदण्डभन्दा बढी मालवस्तु लिएर जाने र भन्सार तथा प्रहरीको कारबाहीमा परी त्यस्तो मालवस्तुको दोब्बर मूल्य बराबर धरौटी र जरिवाना तथा थुनामा समेत पुग्ने गरेका थिए।
हाल विदेशबाट नेपाल फर्कने यात्रुले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन। एकजना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको छ।
विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेका अनुसार गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानूनी व्यवस्था रहेको छ।
यसैगरी, मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन। श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउँने कानुनी व्यवस्था छ। यस्तोमा थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्छ।
यसैगरी ५ हजार अमेरीकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमान्थलमा स्वः घोषणा गर्नुपर्छ। रकम घोषणाको भने कुनै महशुल वा शुल्क बुझाउनु नपर्ने व्यवथा रहेको छ।