चीनको केरुङ जान ट्रक चालकलाई प्रवेश पत्रको व्यवस्था गरिने

काठमाण्डौं । रसुवागढी नाका हुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई चीन प्रवेश गर्न अनुमति पत्रको व्यवस्था गरिने भएको छ । अध्यागमन विभागका महानिर्देश झलकराम अधिकारीले ज्ञापनपत्र बुझाउन गएका ट्रक कन्टेनर चालकहरूलाई चीन प्रवेशका लागि अनुमतिपत्रको व्यवस्था गर्न चीनतर्फ अनुरोध गरिएको जानकारी दिएका हुन् ।

‘चीनमा ट्रक कन्टेर लैजान मिल्नका लागि प्रवेशपत्र दिलाउन नेपालस्थित चीनको राजदूतावासका सेकेण्ड सेक्रेटरीसंग छलफल गरेको छु,’ महानिर्देश अधिकारीले भने ।

गृह मन्त्रालय अध्यागमन शाखाले रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमति पत्र सम्बन्धी कार्याविधि २०७६ जारी गर्दै ४ प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरेको थियो । उक्त कार्यविधिमा सवारी चालक प्रवेश अनुमति पत्र, कामदार प्रवेश अनुमति पत्र, व्यवसायी प्रवेश अनुमति पत्र, एकदिने प्रवेश अनुमति पत्रको व्यवस्था भएता पनि अहिलेसम्म चालक, सहचालक तथा व्यवसायीहरूले चीन प्रवेश अनुमति पत्र पाएका छैनन् ।

चालकहरूले चीन प्रवेश अनुमति पत्र नपाउँदा ९६६ वटा ट्रक कन्टेनरका चालकहरूले काठमाडौंबाट १३२ किलोमिटर दुरीमा रहेको रसुवागढीको टिमुरेसम्म सवारीसाधन पुर्याएर चीन प्रवेश अनुमति पत्र भएका रसुवा जिल्लावासी चालक खोजेर २४ किलोमिटर दुरीमा रहेको केरुङ लानका लागि १५ हजार तिर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।

यस विषयमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका प्रतिनिधि मण्डलले आज अध्ययामनमा महानिर्देशक अधिकारीसँग छलफल गरेका थिए ।

चालकहरूलाई पासको व्यवस्था गर्न आग्रह गर्दै लकडाउन अघि र लकडाउनपछि संगठन र जिल्ला प्रशासन कार्यालय रसुवा, जिल्ला प्रहरी कार्यालय रसुवा र गोसाँइकुण्ड गाउँपालिकालाई ध्यानकर्षण गराएको थियो ।

यस्तै साउनको ३ गते अध्यागमन विभागलाई ज्ञापन पत्र बुझाउँदै समस्याको समाधानका लागि आग्रह गरिएको थियो । सरकारले २०७६ सालमै जारी गरेको कार्यविधि कार्यान्वयनका लागि बल्ल चीनका अधिकारी समक्ष पुगेको हो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले ट्रक कन्टेनर चालकहरूले कोभिड २०१९ देखि यो समस्या बेह्रोर्दै आएको बताए । महँगो लागतमा अपरिचित व्यक्तिको जिम्मा लाएर लाखौँको सवारीसाधन केरुङ पठाउनु पर्ने गरेको बताए ।

नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले यो समस्याबाट चालकहरू अत्यन्तै पीडित रहेकाले यसको समाधान गर्नुपर्ने बताए । चीनको भूभागमा विभिन्न बहानामा नेपाली ट्रक चालकमाथी दुर्व्यवहार हुने गरेको उनले बताए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको ट्रक इकाईका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले चालक अनुमती पत्रका साथै प्रशासनिक झमेला सृजना गर्ने कार्यको अन्त्य हुनुपर्ने बताए । उनले सुरक्षाको चासो देशकै चासो हो भन्दै दुई देशका सिमा सुरक्षा अधिकारीहरू र दुवै देशका उच्च तहबाट छलफल गरी समाधान गर्नुपर्ने बताए ।

 

जग्गाको टुंगो नलाग्दा कोटेश्वर अन्डरपास अन्योलमा, मुआब्जा बाहेक १३ अर्ब लाग्ने Read Previous

जग्गाको टुंगो नलाग्दा कोटेश्वर अन्डरपास अन्योलमा, मुआब्जा बाहेक १३ अर्ब लाग्ने

सिम्रिक एयरका हेलिकप्टर उडानमा रोक Read Next

सिम्रिक एयरका हेलिकप्टर उडानमा रोक