काठमाडौं । जग्गाको टुंगो नलाग्दा कोटेश्वरमा अन्डरपास निर्माण अन्योलमा परेको छ । अन्डरपास निर्माणका लागि आवश्यक जग्गा उपलब्ध नभएको र सरकारले प्राप्ति गर्ने प्रक्रिया पनि अघि नबढाउँदा यो आयोजना अन्योलमा परेको हो ।
कोटेश्वरमा अन्डरपास निर्माणका लागि विगत २ वर्षदेखि जापानले अध्ययन गरिरहेको छ । सडक विभागका प्रवक्ता रामहरी पोखरेलले जापानले आफ्नै लगानीमा प्रारम्भिक अध्ययन गरिरहेको र यही आवमा सकिने बताए । उनका अनुसार सो स्थानमा अन्डरपास बन्न प्रारम्भिक अध्ययन सके पनि तीनकुने र एयरपोर्टको जग्गा प्राप्ति नभएसम्म निर्माण कार्यमा जापानले हात नहाल्ने भएको छ ।
उनले सकेसम्म थोरै जग्गाको मुआब्जा दिने गरी तीनकुनेमा केही जग्गा लिने र त्रिभुवन विमानस्थलको केही जग्गा प्राप्ति गर्ने गरी छलफल भइरहेको बताए । उनले यस विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग कुरा भए पनि समन्वयन हुन बाँकी रहेको बताए । उनले जग्गाको समस्या क्लियर नभएसम्म कुनै काम सुरू नहुने बताए ।
‘जापानले जग्गा क्लियर नभएसम्म काम सुरू गर्दैन, हामीले तीनकुने र एयरपोर्टमा जग्गा लिन खोजिरहेका छौँ,’ पोखरेलले चाणक्य पोष्टसँग भने ‘सक्दो कम मुआब्जा तिर्नुपर्ने गरी जग्गा लिन खोजेका हौँ ।’
उनले विमानस्थललाई तिर्नुपर्ने रकम आयोजनाले तिरे दिने कुरा गरे पनि तीनकुनेमा जग्गाको मुआब्जा उच्च हुने देखिएको बताए । उनले यसका लागि अझै एलाइनमेन्ट तयार गर्न बाँकी रहेको बताए ।
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा कोटेश्वर र नयाँ बानेश्वरमा अन्डरपास निर्माण सुरू गर्ने घोषणा गरेको छ । कोटेश्वरको प्रारम्भिक अध्ययन सुरू भएको २ वर्ष बितिसकेको छ भनेबानेश्वरमा अन्डरपास निर्माणको कुनै अध्ययन सुरू भएको छैन ।
कोटेश्वरमा अन्डरपास निर्माण गर्न १३ अर्ब रुपैयाँ मुआब्जा बाहेक अनुमान गरिएको उनले बताए । तर, लामो निर्माण सुरू हुन नसक्दा लागत महँगिदै गएको उनले जानकारी दिए ।
यो अन्डरपास निर्माणका क्रममा तीनकुनेतर्फ फ्लाइओभरबाट सुरू भएर कोटेश्वरमा अन्डरपास निर्माण हुने छ भने जडीबुटीनिर फेरि फ्लाइओभर बनाइने । यो अन्डरपास सन् २०३७ सम्मको सवारी चापलाई धान्ने गरी निर्माण गर्न लागिएको हो ।
कोटेश्वर अहिले उपत्यकामै सबैभन्दा धेरै ट्राफिक जाम हुने मध्येको प्रमुख स्थान हो । यहाँ अन्डरपास बनेमा लामो समयमा जाममा बस्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।