दबाबमा बैंकिङ व्यवसायका लगानीकर्ता, प्रतिफल घट्दो

काठमाडौं । बैंकिङ व्यवसायमाथि गरेको लगानी दबाबमा पर्दै गएको छ । अर्थतन्तन्त्रमा देखिएको असर, खराब कर्जा र लागत वृद्धिले बैंकिङ व्यवसाय माथिको लगानीको प्रतिफल कमजोर हुँदै गएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा बैंकहरूको खराब कर्जामा भएको वृद्धिले सम्भावित कर्जा नोक्सानी बापतको प्रोभिजनिङ रकम बढेको छ । बैंकहरूको निष्कृय कर्जामा भएको वृद्धिले नाफामा दबाब देखिएको छ भने त्यसको असर लगानीको प्रतिफलमा देखिएको छ ।

पूर्व बैंकर अनलराज भट्टराई बैंकिङ व्यवसाय दबाबमा रहेको र प्रतिफल घट्दै गएको बताउँछन् । ‘५८ अर्बको पूँजी भएको बैंकको कमाइ नै छैन । प्रतिफलको हिसाबले बैंकिङ व्यवसाय दबाबमा पर्दै गएको देखिन्छ,’ उनले भने, ‘नगद चक्र, व्यापारमा देखिएको असर बैंकको नाफामा प्रष्ट रूपमा देखियो । प्रोभिजनिङ पनि बढेको छ ।’

मर्जरले दिएन सिनर्जी

२०७९/८० मा २० वटा वाणिज्य बैंकले खुद नाफा ७० अर्ब १९ करोड रुपैयाँ आर्जन गरेका छन् । अघिल्लो वर्ष बैंकहरूले ५६ अर्ब १७ करोड रुपैयाँ कमाएका थिए । यो हिसाबले संस्थाहरूको खुद नाफा २४.९३ प्रतिशतले बढेको देखिए पनि वास्तविकता त्यो नभएको बैंकरहरू बताउँछन् ।

अघिल्लो वर्ष वाणिज्य बैंकहरूको संख्या २६ थियो । यो बीचमा ६ वटा वाणिज्य बैंकहरू मर्जर तथा प्राप्तिमा गएर अस्तित्व मेटिएको छ ।

अघिल्लो वर्ष मर्जर तथा प्राप्तिमा गएका एनसीसी, कुमारी, बैंक अफ कमाठमाडू, सेन्चुरी, सिभिल, सनराइज र मेगाको नाफा समेत जोड्दा ६६ अर्ब २५ करोड रुपैयाँ कमाएका थिए । यो हिसाबले हेर्दा गत वर्ष बैंकको नाफा ५.९३ प्रतिशतले सामान्य वृद्धि भएको देखिन्छ ।
‘वास्तवमा वाणिज्य बैंकहरूको गत वर्ष नाफा २५ प्रतिशतले बढेको होइन । मर्जरमा गएकाहरूको पनि हिसाब जोड्यो भने ५÷६ प्रतिशतभन्दा कम छ,’ भट्टराई भन्छन् ।

पूर्वबैंकर परशुराम क्षेत्री कुँवर अघिल्ला वर्षका २६ बैंकको नाफासँग मर्जर भएपछिका २० बैंकको तुलना गरेर नाफा वृद्धि भएको भन्नु गलत भएको बताउँछन् ।

‘आव २०७८/७९ का २० वटा वाणिज्य बैंकहरूको नाफासँग २०७९/८० मा २६ वटा वाणिज्य बैंकहरूको नाफासँग तुलना गरेर २५ प्रतिशत वृद्धि भयो भनेर भ्रम छरिँदैछ । स्वपूँजीमा प्रतिफलका बारे कुरा गरेको पाइदैन,’ उनले भनेका छन् ।

कमजोर बन्दै प्रतिफल

गत वर्ष बैंकले कमाएको मुनाफा र मुनाफाको आधारमा समेत लाभांश वितरण क्षमता कमजोर देखिएको छ ।

मर्जरमा गएका बैंकहरूकै लाभांश वितरण क्षमता खस्किएको छ । गत वर्षको वित्तीय विवरण अनुसार वाणिज्य बैंकको वितरणयोग्य नाफा ३० अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने औषतमा लाभांश वितरण क्षमता ११.५१ प्रतिशत रहेको देखिन्छ । जबकी अघिल्लो वर्ष बैंकहरूको वितरण योग्य नाफा ४० अर्ब रुपैयाँ थियो ।

बैंकहरूले सेयरधनीलाई लगानीको प्रतिफल लाभांशको रूपमा सेयर धनीलाई वितरण गर्छन् । गत वर्षको नाफाबाट दुई बैंकले लाभांश् नै बाँड्न सक्दैनन् भने ४ बैंकले ५ प्रतिशतभन्दा कम मात्र दिनसक्ने क्षमता छ । कुमारी र हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।

गत वर्ष पूँजी कोषका कारण एनआइसी एशिया, माछापुच्छ्रे, सनराइज, लक्ष्मी बैंकले लाभांश बाड्न पाएका थिएनन् । यस वर्ष सबैभन्दा धेरै एभरेष्ट बैंकको लाभांश क्षमता ४०.५० प्रतिशत रहेको छ ।

६/७ खर्ब बढी पूँजी भएका वाणिज्य बैंकहरूको यो प्रतिफल न्यून भएको वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् । क्लोजिङ इक्विटीमा प्रतिफल ४.७१ प्रतिशत रहेको उनीहरूको भनाइ छ ।

गत वर्ष मात्रै ६ वटा बैंकको अस्तित्व मेटिएको छ । मर्जरमा गएका ती बैंकहरूको वित्तीय विवरण हेर्दा कमजोर देखिन्छ । खराब कर्जा पनि यी बैंकहरूकै धेरै वृद्धि भएको छ भने पूँजीको अनुपातमा प्रतिफल बढाउन सकेका छैनन् । सिभिल बैंकलाई गाभेको हिमालयन बैंक र एनसीसलिाई गाभेको कुमारी बैंक लाभांश दिन नसक्ने अवस्थामा छन् ।

यसैगरी, मेगा बैंकसँग मर्जर गरेको इन्भेष्टमेन्ट मेगाा र सेन्चुरीलाई गाभेको प्रभु बैंकको वित्तीय अवस्था पनि अन्यको तुलनामा कमजोर नै देखिएको छ । मर्जरबाट बलियो सिनर्जी प्राप्त गर्न नसक्नु, खराब कर्जा बढेर प्रोभिजनिङ बढ्नु लगायतका कारणले यी बैंकहरू नाफाको दबाबमा परेको बैंकरहरू बताउँछन् ।

एक वर्षमा बैंकहरूको खराब कर्जा दोब्बरले बढेको छ । अघिल्लो वर्ष औषतमा १.२५ प्रतिशत रहेको वाणिज्य बैंकहरूको निष्कृय कर्जा समीक्षा अवधिमा दोब्बर बढीले बढेर ३.०३ प्रतिशत पुगेको छ ।

निष्कृष्य कर्जा पनि सबैभन्दा धेरै कुमारी बैंक ४.७७, हिमालयन ४.५७, नेपाल इन्भेष्टमेन्ट मेगा ४.३५ र प्रभु, नबिल बैंकको ४ प्रतिशत माथि पुगेको छ । खुद नाफामा पनि धेरै पूँजी भएका तथा मर्जरमा गएका यि बैंकहरू नै कमजोर देखिएका छन् ।

 

सेयर बजारमा उच्च अंकको कमब्याक Read Previous

सेयर बजारमा उच्च अंकको कमब्याक

नेप्सेमा सूर्योदय वोमी लघुवित्तकाे बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा सूर्योदय वोमी लघुवित्तकाे बोनस सेयर सूचीकृत