काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । गत बिहीबारदेखि ओरालो लागेर लगातार ७० अंकले घटेको नेप्से आज एकैदिन ४१ अंकले फर्केको छ ।
नेपाल राष्ट्र बैंकले साउन ७ गते मौद्रिक नीति जारी गरेपछि २०८ अंकले घटेको नेप्सेले झन्डै तीन सातापछि लय समातेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि सामान्य सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १५ करोडले बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
बुधबार नेप्से परिसूचक ४१.०६ अंकले बढेर २०६०.९१ विन्दुमा पुगेको छ । यसदिन २६५ कम्पनीको ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ ।
व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ३.६२ प्रतिशतले बढेको छ ।
आज आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक सर्वाधिक कारोबार भएको छ । यसको साढे १५ करोड रुपैयाँ बढीको २ लाख ६६ हजार कित्ता सेयर किनबेच भएको छ ।
उच्च अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन लघुवित्त र सुपर माइ हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
यस्तै, मनकामना स्मार्ट लघुवित्त ९.५७, मन्दकिनी हाइड्रोपावर ९.३९, एशियन हाइड्रोपावर ८.९१, फर्स्ट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक र इमर्जिङ नेपालका सेयरधनीले ८ प्रतिशत कमाएका छन् ।