काठमाडौं । आर्थिक मन्दीको असर विकास बैंकहरूको नाफामा देखिएको छ । गत वर्ष वाणिज्य बैंकहरूले औसतमा खुद नाफा २५ प्रतिशतले बढाए पनि विकास बैंकहरूको ९.४७ प्रतिशतले घटेको छ ।
हाल संचालनमा रहेको १६ विकास (८ राष्ट्रियस्तर र ८ क्षेत्रीयस्तर)ले गत आर्थिक वर्ष २०७९/८० मा कुल ५ अर्ब ९२ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको तुलनामा ६२ करोड रुपैयाँ हो । विकास बैंकहरूले अघिल्लो वर्ष कुल ६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका थिए ।
गत वर्ष बैंकहरूले लगानी गरेको ऋण असुल्न नसक्दा खराब कर्जा बढ्न गई ठूलो रकम प्रोभिजनिङ गर्नुपर्दा खुद नाफा घटेको हो । १६ मध्ये ६ बैंकको मात्र नाफा बढेको छ भने १० बैंकको घटेको छ ।
८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरूमध्ये तीनवटाको मात्रै नाफा बढेको छ भने अरुको घटेको छ । साइन रेसुङगाको २१ प्रतिशत, गरिमा विकास बैंकले १८ प्रतिशत, मुक्तिनाथको नाफा १ प्रतिशतले बढको छ भने महालक्ष्मी ३४, ज्योती विकास बैंक १७, कामना सेवा विकास २६ र लुम्बिनी विकास बैंकको नाफा ३ प्रतिशतले घटेको छ ।
त्यस्तै, क्षेत्रीय स्तरमा ८ मध्ये ४ बैंक्को नाफा बढेको छ भने ४ को घटेको छ । एक्सेल डेभलपमेन्टले ३१, मितेरीले ८ र कर्पोरेट डेभलपमैनट बैंकले ३९८ प्रतिशतले नाफा बढाउन सफल भएका छन् ।
बैंकिङ क्षेत्रका जानकार अनलराज भट्टराई बैंकको प्रोभिजनिङमा भएको वृद्धि र नगद चक्रमा देखिएको असरका कारण विकास बैंकको नाफा घटेको बताउँछन् ।
‘आर्थिक मन्दीको असर बैंकिङ क्षेत्रको व्यवसायमा देखिएको छ । कर्जा नबढ्दा पनि प्रोभिजनिङ बढेको छ भने नगद चक्रको असर देखियो,’ उनले भने ।
बैंकहरू दबाबमा पर्दै गएको र अब व्यवसायबाट त्यत्ति प्रतिफल प्राप्त गर्न सक्ने अवस्था नरहेको उनले बताए । ‘वाणिज्य बैंककै नाफा पनि मर्जरले बढेको देखिए पनि वास्तवमा घटेको हो । मर्जर भएका बैंकहरूको हिसाब जोड्यो भने त्यो हुँदैन । गत वर्षको यो नाफा मर्जरपछिको नाफाले असर पारेको हो । वास्तवमा त्यो होइन,’ भट्टराईले भने ।
कुनले कति कमाए ?
गत वर्ष विकास बैंकहरूमध्ये मुक्तिनाथले सबैभन्दा धेरै १ अर्ब ३६ करोड खुद नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ३४ करोड नाफा कमाएको मुक्तिनाथले गत वर्ष खुद नाफा १.६४ प्रतिशतले बढाएको छ ।

त्यस्तै, अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत नाफा बढाउन सफल गरिमाले १ अर्ब २१ करोड र २१ प्रतितश नाफा बढाउन सफल साइन रेसुंगाले ७८ करोड ६८ लाख नाफा कमाएको छ ।
त्यस्तै, अघिल्लो वर्षको तुलनामा नाफा घटेका लुम्बिनीले ६१ करोड, ज्यातिले ५५ करोड, महालक्ष्मीले ४७ करोड, कामना सेवाले ४३ करोड र सांग्रिलाले ३४ करोड नाफा कमाएका छन् ।
त्यस्तै, क्षेत्रीयस्तरका विकास बैंकतर्फ मितेरी डेभलपमेन्टले सबैभन्दा धेरै १६ करोड नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशत नाफा बढाउन सफल एक्सलले १२ करोड ६५ लाख नाफा कमाएको छ ।
क्षेत्रीयस्तरमा दुई बैंक भने घाटामा रहेका छन् । नारायनी विकास बैंक २ करोड ९१ लाख र सप्तकोशी विकास बैंक २० करोड ५६ लाख रुपैयाँ नोक्सानीमा रहेका छन् ।