भरतपुर अस्पतालको जग्गा बाँडेर सकियो, पार्किङ गर्न सडक कब्जा

चितवन। नेपाल सरकार मातहतको भरतपुर अस्पतालको जग्गा बाँडेर सकिएपछि पार्किङ अभाव भएको छ। अस्पतालको जग्गामा पार्किङ साँघुरो भएपछि सडकमा पार्किङ गर्न थालिएको छ।

भरतपुर अस्पतालको ३० बिघा ११ कट्ठा छ धुर जग्गामध्ये अहिले अस्पतालसँग १२ बिघा मात्रै बाँकी छ। अस्पतालबाहिर झण्डै ५०० मिटर लामो सडकमा मोटरसाइकल र गाडी पार्किङ गर्ने गरिएको छ। यसबाट दिनभर अस्पताल अगाडिको सडक क्षेत्रमा भीडभाड हुने गरेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले अस्पताल परिसरमा ठाउँ अभावका कारण पार्किङ व्यवस्थापन गर्न नसकिएको बताए। अस्पतालको पूर्वतर्फ भने बाइपास सडकसँगैको भागमा अस्पतालको जग्गा खाली रहेको छ।

पौडेलले पार्किङका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा जानकारी गराएर छलफल भइरहेको बताए। उनले भने, ‘अस्पतालको जग्गा बाँडेर र भाडामा लगाएर सकिएकाले पार्किङको समस्या भएको हो।’

कर्मचारीबाहेक अन्यलाई अस्पतालले पार्किङको व्यवस्था गर्नसकेको छैन। भर्ना भएका बिरामी कुरुवाको पार्किङ भने पूर्ववत् अवस्थामा सञ्‍चालनमा छ।

गएको आइतबार बहिरङ्ग सेवा लिन दुई हजार एक सय ७५ जना आएका थिए। अघिल्लो आइतबार यो सङ्ख्या २ हजार २८९ थियो।

बिरामीसँगै अन्य साथीसमेत आउने भएकाले अस्पतालमा भीड बढ्ने गर्छ। बीमाको प्रथम विन्दु भरतपुर अस्पताल भएकाले बिरामीको चाप बढ्दो छ।

भरतपुर अस्पतालको जग्गा कलेज अफ मेडिकल साइन्सेसलाई भाडामा लगाइएको छ। यसैगरी स्कुल अफ हेल्थ साइन्स, नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसञ्‍चार कार्यालय, स्वास्थ्य कार्यालय चितवन, नगर टोल विकास संस्थालाई प्रयोगका लागि दिइएको छ। साझा औषधि पसलले पनि जग्गा उपभोग गरेको छ।

अस्पतालकै नाममा लालपुर्जा भएको जग्गा भरतपुर आँखा अस्पतालले समेत प्रयोग गरेको छ। आँखा अस्पतालले मन्त्रिपरिषद्‍बाट निर्णय भएकाले सो जग्गाको लालपुर्जा पाउनुपर्ने माग गर्दै आएको छ।रासस

लक्ष्मी लघुवित्त ८ करोड घाटामा, खराब कर्जा ८ प्रतिशत माथि Read Previous

लक्ष्मी लघुवित्त ८ करोड घाटामा, खराब कर्जा ८ प्रतिशत माथि

वाणिज्य बैंकको नाफा २५% बढ्दा विकास बैंकको साढे ९% घट्यो, २ बैंक घाटामा Read Next

वाणिज्य बैंकको नाफा २५% बढ्दा विकास बैंकको साढे ९% घट्यो, २ बैंक घाटामा