नबिलसहित ४ बैंकले माग आए पनि धेरै कर्जा दिन नसक्ने, यस्तो छ सीडी रेसियो

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहे पनि झन्डै आधादर्जन बैंकले धेरै कर्जा लगानी गर्न नसक्ने भएका छ ।

अहिले बैंकमा कर्जाको माग छैन । तर, कर्जाको माग बढे पनि नबिलसहित केही बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमा नजिक भएकाले धेरै कर्जा लगानी गर्न नसक्ने भएका हुन् ।

राष्ट्र बैंकले बैंकहरूको कर्जा निक्षेप अनुपात ९० प्रतिशत तोकेको छ । अर्थात् बैंकहरूले १०० रुपैयाँ निक्षेप संकलन गर्दा ९० रुपैयाँ मात्र कर्जा लगानी गर्न पाउँछन् । बैंकहरूले सार्वजनिक गरेको गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकहरूको औसत सीडी रेसियो ८१.७१ प्रतिशत छ ।

तर, प्राइम कमर्शियल, कुमारी, नबिल र इन्भेष्टमेन्ट बैंकको सीडी रेसियो औसतभन्दा निकै माथि अर्थात् ८५ प्रतिशतभन्दा माथि छ । यस आधारमा अब यी बैंकले कर्जाको माग आए पनि धेरै कर्जा लगानी गर्न पाउने ठाउँ छैन । सीडी रेसियोका साथै बैंकहरूले कर्जा लगानी गर्न राष्ट्र बैंकले तोकेको पूँजी कोष समेत कायम गर्नुपर्ने हुन्छ । यद्यपि, तत्कालै कर्जाको माग बढी नहाल्ने र क्रमशः बढे पनि निक्षेप बढाउँदै कर्जा लगानीका लागि सहज बनाउने यी बैंकहरूले जनाएका छन् ।

असार मसान्तसम्म २० वाणिज्य बैंकमध्ये ९ बैंकको सीडी रेसियो औसतभन्दा पनि कम छ भने ११ को औसतभन्दा माथि छ । जसमा सबैभन्दा धेरै प्राइम कमर्शियलको सीडी रेसियो ८८.७२ प्रतिशत रहेको छ । यस आधारमा अब प्राइमले निक्षेपको १.३२ प्रतिशत मात्र कर्जा दिन सक्छ । असारसम्म प्राइमले १ खर्ब ९४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ७४ अर्ब कर्जा लगानी गरेको छ ।

यस्तै, नबिल बैंकको सीडी रेसियो ८७.६८ प्रतिशत, कुमारीको ८६.३८ प्रतिशत र इन्भेष्टमेन्ट मेगाको ८५.०५ प्रतिशत रहेको छ । यसले यी बैंकहरूमा धेरै कर्जाको माग आए पनि सो अनुसार लगानी गर्न नपाउने देखिन्छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तरलता (लगानी योग्य) रकम अभावका कारण कर्जा विस्तार गर्न नसकेका बैंकहरूको सीडी रेसीयो (निक्षेप-कर्जा अनुपात) वर्षको अन्तिममा निकै तल आएको छ । गत वर्षको अन्तिममा सरकारले बढाएको पूँजीगत खर्च, कर्जाको माग नहुँदा थुप्रिएको निक्षेप लगायतका कारण प्रणालीमा अधिक तरलता हुँदा बैंकको सीडी रेसीयो निकै सहज भएको हो ।

अहिले पनि बैंकबाट ऋणको माग नहुँदा रकम बैंकमै थुप्रिएको छ । वित्तीय क्षेत्रका जानकारहरूका अनुसार अहिले वाणिज्य बैंकहरूसँग४ खर्ब रुपैयाँ बढी कर्जा दिनसक्ने क्षमता छ ।

कुन बैंकको सीडी रेसीयो कति ?

असार मसान्तको तथ्यांकलाई आधार मान्दा ९ बैंकले कर्जाको माग बढे पनि सहजै लगानी गर्न सकिने देखिन्छ । सीडी रेसियो औसतभन्दा कम रहेका बैंकहरूलाई माग बढे पनि स्रोत जुटाउन समस्या नपर्ने देखिएको छ ।

समीक्षा अवधिमा नेपाल बैंकको सीडी रेसियो सबैभन्दा कम ७४.८४ प्रतिशत हरेको छ । यो राष्ट्र बैंकले तोकेको सीमाभन्दा १५.१६ प्रतिशत तल हो । नेपाल बैंकले संकलन गरेको निक्षेपमध्ये अझै १५ प्रतिशत लगानी गर्न सक्ने अवस्था छ ।

त्यसैगरी, असारसम्म स्ट्यान्डर्ड चार्टर्डको ७५.८०, राष्ट्रिय वाणिज्यको ७६.३०, सिद्धार्थको ७७.१७, एसबीआईको ७८.९९, सानिमा बैंकको ७९, प्रभुको ८०.३९, माछापुच्छेको ८०.६४ र लक्ष्मी सनराइजको ८१.६४ प्रतिशत सीडी रेसियो रहेको छ । यी बैंकहरूलाई पनि कर्जा लगानी गर्न सहज देखिन्छ ।

यस्तै, औसतभन्दा बढी सीडी रेसियो रहे पनि एभरेष्ट, सिटिजन्स, एनएमबी, ग्लोबल आइएमई, एनआइसी एसिया र हिमालयन बैंकलाई पनि तुलनात्मक रुपमा कर्जा लगानी गर्न सहजै देखिन्छ । यी बैंकको सीडी रेसियो ८५ प्रतिशतभन्दा कम नै रहेको छ ।

उच्च सीडी अनुपात भएका कुमारी, प्राइम, नबिललाई भने माग बढेमा सो अनुसार कर्जा लगानी गर्न सहज छैन । सीडी रेसियोले सीमा नाघे राष्ट्र बैंकले कारबाही गर्छ । यस्तोमा बैंकहरू चाहेर पनि व्यवसाय विस्तार गर्न पाउँदैनन् ।

 

सेयर बजारमा दोहोरो अंकले गिरावट, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

सेयर बजारमा दोहोरो अंकले गिरावट, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

मन्त्रीकै लागि ५ दिन रोकिएको थियो नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’ Read Next

मन्त्रीकै लागि ५ दिन रोकिएको थियो नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’