काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । नेपल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २८.४० अंकले घटेर २०१९.८५ को विन्दुमा झरेको होे ।
आज १अर्ब ७३ करोड रुपैयाँ बराबरको ४८ लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ । यसदिन कारोबारमा आएका २६५ कम्पनी मध्ये २२ वटाको सेयर मूल्य बढेको छ भने १९८ को घटेको छ । नेपाल राष्ट्र बैंकले अघिल्लो साता मौद्रिक नीति ल्याएयता बजारमा सुधार आउन सकेको छैन । मनोबल नबढ्दा बजार निरन्तर ओरालो लागिरहेको लगानीकर्ताहरु बताउँछन् ।
आज आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक सर्वाधिक कारोबार भएको छ । यसको १७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोहोरो अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था र नागरिक मिडियाको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । पिपुल्स पावर कम्पनी र एनआइबीएल प्रगति फन्डको सेयर मूल्य ३/३ प्रतिशत बढीले वृद्धि भएको छ ।
यसदिन ग्लोबल आइएमई डिबेन्चरका लगानीकर्ताले ९ प्रतिशतले गुमाएका छन् । त्यसैगरी, गोर्खाज फाइनान्स ८ प्रतिशत र बिजय लघुवित्त, सबैको लघुवित्तको सेयर मूल्यमा ६/६प्रतिशतले गिरावट आएको छ ।