काठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ मा रहेको धौवादी फलाम खानीबाट दैनिक १५०० मेट्रिकटनसम्म फलाम निकाल्न सकिने देखिएको छ । उक्त खानीको बारेमा गरिएको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो ।
अहिले धौवादी फलामखानीको सम्भाव्यता अध्ययनको काम सकी ड्राफ्ट तयार गर्ने काम भइरहेको छ । धौवादी फलामखानी कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकबहादुर चन्दले सम्भाव्यता अध्ययनको ड्राफ्ट तयार भइसकेको बताए ।
उनका अनुसार सो ड्राफ्टको रिभ्यू भइरहेको छ । उनले उक्त रिभ्यूपछि फाइनल ड्राफ्ट तयार पारिने बताए । ‘अहिले ४१ वर्गकिलोमिटरमा सम्भाव्यता अध्ययन गरिएकोे हो । यसको फाइनल ड्राफ्ट तयार भएपछि आर्थिक पाटोको समेत अध्ययन गरिने छ,’ उनले भने, ‘त्यसपछि रिक्स एनलाइसेस गरेपछि माइनिङ स्कीम स्वीकृत हुनुपर्ने हुन्छ । त्यसपछि वातावरणीय मूल्यांकन र विस्तृत सम्भाव्यता अध्ययन जस्ता कार्यले गति पाउने छन् ।’
धौवादी फलाम खानीको सम्भाव्यता अध्ययन अन्तर्राष्ट्रियसहित ३ कन्सलटेन्ट कम्पनीले गरिरहेका छन् । अस्ट्रियामा प्रधान कार्यालय रहेको एसआरके माइनिङ, भारतीय कम्पनी दस्तुर र नेपाली कम्पनी जेड कन्सल्टयान्टले फलाम खानीको सम्भाव्यता अध्ययन गरी पहिलो ड्राफ्ट बुझाएका हुन् ।
उक्त खानीबाट वि.सं. २०८४ देखि व्यवसायिक उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । उनले कुनै अवरोध नआएको खण्डमा २०८४ भित्रै व्यवसायीक उत्पादन गर्न सक्ने बताए । धौवादीमा १२७ मिलियन (१२.७ करोड)टन फलाम उत्खन्न क्षमता रहेको उनले जानकारी दिए ।
‘अहिले सम्भाव्यता अध्ययन भइरहेको छ, आउँदो २०८४ भित्र व्यवसायीक उत्पादन गर्ने गरी काम अघि बढाएका छौँ,’ चन्दले चाणक्य पोष्टसँग भने । हाल खानीका लागि पहुँच मार्ग निर्माण र २२० केभीको प्रशारण लाइन निर्माणको काम भइरहेको छ ।
हालसम्म भारतबाट स्पन्ज आइरन र ब्लेड ल्याएर नेपालमा डण्डी उत्पादन गर्न सकिएको छ । यो खानीबाट फलाम निकाल्न सके भारतीय बजारबाट हुने फलाम आयातलाई विस्थापन गर्न सकिनेछ ।
यहाँ फलाम मिसिएको करिब १० किलोमिटर लामो धौवादी पहाड छ । खानी तथा भूगर्भ विभागका विज्ञहरूले २०६९ देखि २०७५ सम्म गरेको अध्ययनले फलाम खानी रहेको देखाएको थियो । त्यसैका आधारमा उद्योग मन्त्रालयले २०७६ असोजमा धौवादी फलामखानी कम्पनी लिमिटेड गठन गरेर काम अघि बढाएको हो ।