काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा वाणिज्य बैंकहरूले खराब कर्जा घटाउन सफल भएका छन् । बैंकहरू कर्जा लगानीमा भन्दा असुलीमा केन्द्रित भएपछि चैतको तुलनामा खराब कर्जा घटाउन सफल भएका हुन् ।
गत वर्षको चौथो त्रैमासमा बैंकहरूको औसत खराब कर्जा २.८० प्रतिशतमा झरेको छ जबकी चैत मसान्तमा वाणिज्य बैंकहरूको औसत खराब कर्जा ३.०३ प्रतिशत थियो । चैतको तुलनामा असारमा बैंकहरूको खराब कर्जा ०.२३ विन्दुले घटाएका छन् ।
चैतको तुलनामा खराब कर्जा घटे पनि अघिल्लो असारको तुलनामा भने दोब्बरले बढेको छ । २०७९ असार मसान्तमा बैंकहरूको औसत खराब कर्जा १.२७ प्रतिशत रहेकोमा २०८० असार आइपुग्दा १.६१ बिन्दुले बढेर २.८० प्रतिशत पुगेको हो ।असार मसान्तसम्म झन्डै ४३ खर्ब कर्जा लगानी गरेका बैंकहको खराब कर्जा १ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ ।
पूर्व बैंकर परशुराम कुँवर क्षेत्री ऋणीले समयमा तिर्न नसक्दा वा बैंकले लगानी गरेको कर्जा उठाउन नसक्दा खराब कर्जा बढेको बताउँछन् ।
‘मर्जरमा गएका र नगएका सबै बैंकको खराब कर्जा बढेको छ । यसको कारण बैंकले ऋण उठाउन सकेनन्,’ उनले भने, ‘ आर्थिक अवस्था कमजोर हुँदा ऋणीले समयमा ऋण तिर्न सकेनन् ।’
खराब कर्जा बढ्नुका बाबजूद बैंकहरूले गत वर्ष खुद नाफा २५ प्रतिशतले बढाएका छन् । गत वर्षमा वाणिज्य बैंकहरूले ७० अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अर्थतन्त्र र व्यवसायिक संकूचनका बीच संस्थाहरूको नाफामा वृद्धि भए पनि खराब कर्जाको हिस्सा भने दोब्बर बढीले बढेको वित्तीय विवरणले देखाउँछ ।
यस वर्ष कर्जा लगानीमा ऐतिहासिक गिरावट आए पनि पूरा नै ऋण दिएको रकम समेत उठ्न नसक्दा खराब कर्जा बढेको देखिन्छ । उच्च ब्याजदर, माग र आपूर्तिमा आएको संकूचन, उत्पादनमा गिरावट आउनु जस्ता कारण्हरूले व्यवसायीले समयमै ऋण तिर्न सकेका छैनन् । कर्जा सूचना केन्द्रको तथ्यांकले पनि यस वर्ष ठूला ऋणी, व्यवसायी, उद्योगीदेखि ठेकेदारसम्म कालो सूचीमा परेको देखाउँछ । गत वर्ष २९ हजार बढी कालोसूचीमा परेका छन् ।
खराब कर्जाले बैंक तथा वित्तीय संस्थाको जोखिम लगायत वित्तीय अवस्था देखिाउँछ । जब संस्थाको खराब कर्जा धेरै हुन्छ त्यत्ति नै जोखिमपूर्ण मानिन्छ । साथै, बैंकहरूले त्यत्ति नै बराबरको रकम प्रोभिजनिङ गर्नुपर्ने हुन्छ । संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा बढी भए राष्ट्र बैंकले कारबाही गर्छ । यो हिस्सा बढ्दै गयो भने नियामकले नै संस्थालाई टेकओभर गर्ने वा मर्जरका लागि दबाब दिने गरेको पाइन्छ ।
नेपालका बैंकहरूको खराब कर्जा दक्षिण एशियामै न्यून भएको बैंकरहरू बताउँछन् । तर, विश्व मुद्रा कोष लयातका संस्थाहरूले भने खराब कर्जा यत्ति न्यून हुनुमा आशंका गर्दै आएको छ । सोही करण ठूला बैंकहरूको अडिट अन्तर्राष्ट्रिय रुपमा गर्नुपर्ने पनि उसले सुझाव दिँदै आएको छ ।
मर्जरमा गएका बैंकको खराब कर्जा धेरै
गत वर्ष तुलनात्मक रुपमा मर्जरमा गएका बैंक्हरूको खराब कर्जा धेरै रहेको छ । आफूभन्दा कमजोर बैंकलाई मर्ज गर्दा विगतमा उनीहरूले लगानी गरेको कर्जा असुली नहुँदा खराब कर्जा बढेको हो ।
एनसीसीलाई गाभेको कुमारीको खराब कर्जा सबैभन्दा धेरै ४.७७ प्रतिशत पुगेको छ । त्यस्तै, सिभिल बैंकलाई गाभेको हिमालयनको ४.५७, मेगा र इन्भेष्टमेन्ट मर्ज भएर बनेको इन्भेष्टमेन्ट मेगाको ४.३५, सेञ्चुरीलाई गाभेको प्रभुको ४.१६, बैंक अफ काठमाडौंलाई गाभेको ग्लोबलको ३.०८ प्रतिशत रहेको छ । अरु बैंकले चैतको तुलनामा खराब कर्जा केही घटाए पनि मर्जरमा गएका बैंकहरूको भने बढेको छ ।
कुन बैंकको खराब कर्जा कति ?
गत वर्ष २० वटै वाणिज्य बैंकको निष्कृय कर्जा बढेको छ । जसमा कुमारी बैंक्को सबैभन्दा धेरै ४.७७ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा कुमारीको खराब कर्जा ४ गुणाले बढेको छ । अघिल्लो वर्ष कुमारीको खराब कर्जा १.११ प्रतिशत मात्र थियो । चैतको तुलनामा पनि कुमारीको खराब कर्जा झन्डै १ प्रतिशतले बढेको छ ।
त्यस्तै, दोस्रोमा हिमालयन बैंकको खराब कर्जा अघिल्लो वर्षको तुलनामा २.९८ विन्दुले बढेर ४.५७ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको ०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष एभरेष्टको यस्तो कर्जा जम्मा ०.१२ प्रतिशत मात्र थियो । यस्तै, गत वर्ष एनआइसी एसीयाको ०.८ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको १.१७ प्रतिशत र सानिमाको १.३० प्रतिशत रहेको छ ।
त्यस्तै, सिद्धार्थ, माछापुच्छे, नेपाल एसबीआई, कृषि विकास, एनएमबी, लक्ष्मी सनराइज, नेपाल र राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा २ देखि ३ प्रतिशतको बीचमा रहेको छ भने सिटिजन्स र नबिलको ३ प्रतिशत बढी छ ।