कर्जा लगानीको रणनीतिमा बैंकहरु, माग नहुँदा ‘मार्केटिङ’ गर्दै

काठमाडौं । चालू आर्थिक वर्षमा पनि कर्जाको माग वृद्धि नभएपछि बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न ग्रहाक खोज्न थालेका छन् । लामो समयदेखि कर्जाको माग नहुँदा बैंकहरुले ऋण लगानी बढाउन ‘मार्केटिङ’ गरिहेका हुन् ।

बैंकहरुले कर्पोरेट ऋणीहरुलाई बोलाएर कर्जा लिन आग्रह गरिरहेको उद्योगी व्यवसायी बताउँछन् । तर, ब्याजदर अझै नघटेको, माग र आपूर्तिमा वृद्धि नभएका कारण लगानी गर्ने वातावारण नभएको उनीहरुको भनाइ छ ।

‘अहिले बैंकले बोलाएरै ऋण दिन खोजिरहेका छन् । तर, उद्योगीहरु थप ऋण लिन सक्ने अवस्थामा छैनन्,’ नेपाल उद्योग वाणिज्य महासंघका एक उपाध्यक्ष भन्छन्, ‘हामीले पुरानै कर्जा नविकरण गर्नुस्, अहिले ६० प्रतिशत तिरेर पछि ४० तिछौं भन्दा मानिरहेका भने छैनन् ।’

बैंकहरुमा लगानीयोग्य रकम थुप्रिए पनि कर्जाको माग बढेको छैन । जसको कारण बैंकहरुको व्यवसायमै धक्का लाग्ने देखिएको छ । पुरानै ऋण उठाउन सकस परिरहेको अवस्थामा नयाँ लगानी गर्नुपर्ने दबाब रहेको नेपाल बैंकर्स संघका एक कार्यकारी सदस्यले बताए ।

‘प्रणालीमा लिक्विडीटी राम्रै छ । तर, डिमान्ड अहिलेसम्म बढेको छैन । पहिलो त्रैमाससम्म यही अवस्था रहने देखिन्छ,’ उनले भने, ‘यो समग्र आर्थतन्त्रमा आएको समस्याको परिणाम हो । अहिले दोहोरो दबाब छ । नयाँ ऋण लगानी पनि बढाउनुपर्ने छ । अर्कोतिर पुरानै ऋण समेत असुल भएको छैन ।’

गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्रणालीमा लगानीयोग्य रकम अभाव र दोस्रो त्रैमासदेखि उच्च ब्याजदरका कारण कर्जाको माग हुन सकेको थिएन । वित्तीय प्रणालीको यो अवस्थाले गत वर्षको तेस्रो त्रैमासदेखि निरन्तरता पाएको छ । अहिले बैंकको आधारदर करिब एकल अंकमा आएको छ भने निक्षेप, कर्जाको ब्याजदर समेत घट्दो क्रममा छ । प्रणालीमा बैंकहरुसँग साढे तीन खर्ब रुपैयाँ बढी ऋण दिनसक्ने तरलता छ । माग नहुँदा सो रकम थुप्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले सीडी रेसीयो औषतमा ८३ प्रतिशत छ भने अन्तर बैंक ब्याजदर ५ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले गत वर्ष १२.६ प्रतिशतले निजी क्षेत्रतर्फ कर्जा विस्तारको लक्ष्य लिएकोमा ३ प्रतिशतले मात्रै वृद्धि भएको थियो ।

यस वर्ष पनि ११.५ प्रतिशतले ऋण लगानी बढाउने लक्ष्य लिएको छ । जुन अहिलेकै लगानीको गतिले नभेट्ने वित्तीय क्षेत्रका जानकारहरु बताउँछन् । पूर्व बैंकर अनलराज भट्टराई अहिले कर्जा लगानीको अवस्था स्थिर रहेको र यस वर्ष पनि बैंकहरुले लक्ष्य अनुसार व्यवसाय विस्तार गर्न नसक्ने बताउँछन् ।

‘अहिले पनि कर्जाको माग छैन । पर्चेज क्षमतामा ह्रास आएको छ । अहिले करेक्सनकै फेजमा छ,’ उनले भने, ‘पूँजी कोषको दबाब, त्यसमाथि साइक्लिकल बफर, माग संकुचन लगायतका कारणले यस वर्ष पनि बैंकहरुले लक्ष्य अनुसार कर्जा लगानी गर्न सक्ने देखिदैन ।’

घोषणामै सीमित नयाँ सहर : कार्यालय भवन त छैन, सहर कहिले बन्ने ? Read Previous

घोषणामै सीमित नयाँ सहर : कार्यालय भवन त छैन, सहर कहिले बन्ने ?

सन नेपाल लाइफको आइपीओ बाँडफाँड कहिले ? Read Next

सन नेपाल लाइफको आइपीओ बाँडफाँड कहिले ?