नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही, सबैभन्दा धेरै काठमाडौंमा

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागले आर्थिक वर्ष २०७९/८० को अवधिमा ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो ।

विभागका महानिर्देशक दिनानाथ मिश्रका अनुसार पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले विभागले विशेष निगरानी बढाइएको छ । ‘अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको पाइएको छ,’ महानिर्देशक मिश्रले भने ।

विभागले समयमा अनुमतिपत्र नलिएका, जाँच नगराएका, नामसारी नगराएका र नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो । सबैभन्दा धेरै काठमाडौँ कार्यालयले कारबाही गरेको छ ।

काठमाडौँ कार्यालयले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ । गत आवमा काठमाडौँमा मात्र ११ हजार ४९१ व्यापारी कारबाहीमा परेका छन् ।

यस्तै, पोखरामा २ हजार १८९, बुटवलमा १ हजार २४४, नेपालगञ्जमा १ हजार ४७९, सुर्खेतमा ५०१ तथा  धनगढीमा १ हजार २६ व्यापारी कारबाहीमा परेका छन् ।

यस्तै, सिलगढीमा २०२, वीरगञ्जमा १ हजार ४३६, जनकपुरमा ७२५, विराटनगरमा २ हजार ४०६ र झापामा १ हजार ३३४ व्यापारी कारबाही गरिएको विभागका प्रवक्ता ज्योति जोशी भट्टले जानकारी दिए । गुणस्तर र नापतौलका नाममा उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने उनी बताउँछन् ।

‘जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाही तीव्र पारेका छौँ,’ प्रवक्ता भट्टा भन्छन्। नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।

विभागले देशभर नापतौलका लागि नयाँ इजाजत तथा प्रमाणपत्र दिने, इजाजत नलिएका व्यापारीलाई कारबाही गर्ने, ट्याक्सीको जाँच गर्नेलगायतका कामबाट रु ७ करोड १६ लाख राजस्व सङ्कलन गरेको छ ।

चल्तीका दुई सिमेन्ट : उत्पादनमा घोराही 'भर्सटायल', ओपीसीमा शिवमकाे 'वर्चश्व' Read Previous

चल्तीका दुई सिमेन्ट : उत्पादनमा घोराही 'भर्सटायल', ओपीसीमा शिवमकाे 'वर्चश्व'

सामसङले कमलादीमा संचालनमा ल्यायो प्रिमियम एक्स्पेरियन्स स्टोर Read Next

सामसङले कमलादीमा संचालनमा ल्यायो प्रिमियम एक्स्पेरियन्स स्टोर