चल्तीका दुई सिमेन्ट : उत्पादनमा घोराही ‘भर्सटायल’, ओपीसीमा शिवमकाे ‘वर्चश्व’

काठमाडौं । पूवार्धार निर्माणमा सिमेन्ट मुख्य निर्माण सामग्री हो । घर, सडक, विमानस्थल, जलविद्युत् लगायत हरेकका पूर्वाधार संरचना निर्माणमा यसको प्रयोग हुन्छ ।

हाल नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको छ । ६० बढी सिमेन्ट उद्योग संचालनमा छन् भने तीमध्ये डेढदर्जन बढीले क्लिङकर र सिमेन्ट दुवै उत्पादन गर्छन् । नेपाली सिमेन्ट उद्योगको उत्पादन क्षमता वार्षिक २ करोड २० लाख टन हाराहारी रहेको छ । यद्यपि, माग नहुँदा पूर्ण क्षमतामा संचालन हुन सकेका छैनन् ।

गत वर्षदेखि नेपालबाट सिमेन्ट निर्यात हुन थालेको छ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट ७७ करोड ९३ लाख रुपैयाँ बराबरको १० लाख टन सिमेन्ट निर्यात भएको छ । सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरसँगै व्यवसायीहरूले निर्यात थालेका हुन् ।

नेपालमा अहिले वार्षिक १ करोडदेखि डेढ करोड टन सिमेन्ट खपत हुँदै आएको व्यवसायीहरू बताउँछन् । ५ दर्जन बढी सिमेन्ट उद्योग भए बजारमा करिब २ दर्जन सिमेन्ट उद्योगको वर्चश्व रहेको पाइन्छ । अहिले बजारमा शिवम्, घोराही, अर्घाखाँची, सर्वोत्तम, रिद्धिसिद्धी, जगदम्बा, होङ्शी लगायत सिमेन्ट धेरै खपत हुन्छ ।

यिनै मध्ये चर्चित दुई ब्राण्ड शिवम् र घोराहीको उत्पादन र बिक्रीको बारेमा यहाँ जानकारी दिने प्रयास गरेका छौं ।

उत्पादन :  शिवम् सिमेन्टले ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको छ । शिवमले ओपीसीको ४३ र ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्छन ।

त्यस्तै, घोराहीले ओपीसी, पीपीसीका साथै क्लिङकर पनि उत्पादन गर्छ । घोराही सिमेन्टले सगरमाथा ओपीसीको ४३ र ५३ ग्रेड र सगरमाथा गोल्ड पीपीसी सिमेन्ट उत्पादन गर्छ । शिवमको वार्षिक उत्पादन क्षमता वार्षिक १० लाख टन रहेको छ भने घोराही सिमेन्टको १५ लाख टन रहेको छ ।

पछिल्लो समय भने मागमा आएको गिरावटका कारण उत्पादन घटाइएको शिवम् सिमेन्टका मार्केटिङ म्यानेजर केशव अर्यालले बताए । उनले अहिले वर्षायाम, मलमास रहेकाले नयाँ निर्माणको थालनी नहुँदा माग घटेको बताए ।

शिवम सिमेन्टले हेटौँडामा आफ्नै क्लिङकर खानीबाट ल्याएर सिमेन्ट उत्पादन गर्दै आएको छ । यस उद्योगले जर्मनी प्रविधिमा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

यस्तै, घोराही सिमेन्टले भीआरएम (भर्टिकल रोलर मिल) र आरपी (रोलर प्रेस) प्रविधिबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । घोराहीले दाङमा चुनढुंगा उत्खनन गरेर सिमेन्ट उत्पादन गर्दै आएको छ ।

बिक्री तथा बजार हिस्सा : शिवम् र घोराही दुवै नेपाली बजारमा धेरै बिक्री हुने सिमेन्ट हुन् । ओपीसीमा शिवम्को वर्चश्व रहँदै आएको छ । शिवम्ले वार्षिक औसतमा साढे ६ अर्ब बढीको सिमेन्ट बिक्री गर्दै आएको छ । गत वर्षएको चैतसम्म शिवम्ले साढे ५ अर्बको सिमेन्ट बिक्री गरेको छ । मासिक १० देखि १२ लाख बोरासम्म बिक्री हुने गरेको कम्पनीले जनाएको छ ।

यस्तै, घोराहीले बजारमा ओपीसी र पीपीसी दुवै खालका सिमेन्ट बिक्री गर्दै आएको छ । मासिक औसतका ९ लाख बोरा सिमेन्ट बिक्री हुने गरेको घोराहीका सेल्स म्यानेजर प्रदीप शर्मा ले बताए । उनले घोराही सिमेन्टको बजार हिस्सा २० देखि ३० प्रतिशतसम्म रहेको दाबी गरे ।

शिवमले पोखरा, हेटौडाँ, इँटहरी, काठमाडौं लगायत देशको मध्य तथा पूर्वी सहरी क्षेत्रमा सिमेन्ट बेच्दै आएको अधिकारीले जानकारी दिए ।  यस्तै, घोराहीले देशभरका प्रमुख ठूला सहरभरी सिमेन्ट बिक्री गर्दै आएको मार्केटिङ म्यानेजर अर्यालले बताए ।

बजार मूल्य : शिवम सिमेन्टको मूल्य ५३ ग्रेडको प्रतिबोरा ७५१ रुपैयाँ रहेको छ । यो ढुवानी भाडा सहितको काठमाडौंमा बिक्री गर्ने मूल्य हो । यस्तै,४३ ग्रेडको सिमेन्ट प्रतिबोराको ७३६ रुपैयाँ पर्छ ।

यस्तै, घोराही सिमेन्टको मूल्य ओपीसी ४३ ग्रेडको ५३० रुपैयाँ र ओपीसी ५३ ग्रेडको ५४५ रुपैयाँ प्रतिबोरा रहेको छ । पीपीसी गोल्डको मूल्य ४३० रुपैयाँ प्रतिबोरा रहेको छ ।

उत्पादनका आधारमा हेर्दा घोराही भर्सटायल देखिएको छ । यसले ओपीसी, पीपीसी, क्लिङकर सबै उत्पादन गर्दै आएको छ भने शिवम्ले ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । यस्तै, ओपीसी सिमेन्ट शिवम्को धेरै खपत हुने गरेको छ । यस आधारमा ओपीसी बजारमा शिवम्को वर्चश्व रहेको छ ।

सूर्यविनायक-धुलिखेल सडक विस्तारकाे काम तीव्र Read Previous

सूर्यविनायक-धुलिखेल सडक विस्तारकाे काम तीव्र

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही, सबैभन्दा धेरै काठमाडौंमा Read Next

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही, सबैभन्दा धेरै काठमाडौंमा