काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिमभार सम्बन्धी व्यवस्था पुनरावलोकन गरेको छ ।
शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति कार्यान्वयन गर्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले २५ लाख रुपैयाँसम्मको अटो कर्जाको जोखिमभार घटाएको हो ।
राष्ट्र बैंकका अनुसार २५ लाख रुपैयाँसम्मको अटो लोनको जोखिमभार १५० प्रतिशतबाट १०० प्रतिशतमा झारिएको छ । अर्थात् अब २५ लाखसम्म अटो लोन दिँदा बैंक तथा वित्तीय संस्थाहरुले १०० प्रतिशत मात्र जोखिभार व्यववस्थापन गर्नुपर्ने छ । यसअघि १०० प्रतिशत गर्नुपर्दथ्यो ।
राष्ट्र बैंकले २५ लाख रुपैयाँभन्दा बढीको अटो कर्जाको जोखिमभार भने यथावत अर्थात् १५० प्रतिशत नै कायम गरेको छ । गत वर्ष मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले अटो लोनको जोखिमभार ७५ प्रतिशतबाट दोब्बरले बढाएर १५० प्रतिशत पुर्याएको थियो ।
जोखिमभार घटाएसँगै बैंकहरुलाई लागत घट्न गई कर्जा दिन समेत सहज हुने भएको छ । यसअघि जोखिमभार धेरै हुँदा बैंकहरुले अटो कर्जा दिन चासो देखाएका थिएनन् ।