काठमाडौं । सिटिजन्स बैंकको खुद नाफामा सुधार आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ १०.४१ प्रतिशतले बढेको छ ।
बैंकले गत असार मसान्तसम्म २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१ करोड बढी हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको ब्याज आम्दानी, संचाालन मुनाफा बढेसँगै खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशतले बढेर ५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । यसैगरी, बैंकको सञ्चालन मुनाफा १३.४२ प्रतिशतले बढेर ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल १४ अर्ब २० करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ १ अर्ब ३ करोड र जगेडा कोषमा ६ अर्ब ७ करोड रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ । यसबाट बैंकले सेयरधनीलाई ७.३० प्रतिशत लाभांश बाँड्न पुग्छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १४.१२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी १.४७ रुपैयाँ बढेर १५.५९ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५०.०८ रुपैयाँ, खराब कर्जा ३.१९ प्रतिशत, मूल्य आम्दानी अनुपात ११.०१ प्रतिशत, बेसरेट १०.५१ प्रतिशत र सीसीडी रेसियो ८२.०४ प्रतिशत रहेको छ ।