काठमाडौं । लुम्बिनी विकास बैंकको खुद नाफामा झिनो गिरावट आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ ३.८८ प्रतिशतले घटेको छ ।
बैंकले गत असार मसान्तसम्म ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा साढे २ करोड कम हो । अघिल्लो वर्ष बैंकले ६३ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको ब्याज आम्दानी बढे पनि खराब कर्जा बढेसँगै इम्पेरमेन्ट चार्ज बढ्दा नाफा प्रभावित भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । यसैगरी, बैंकको सञ्चालन मुनाफा ७.७२ प्रतिशतले घटेर ८६ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकले ४९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल ३ अर्ब ३८ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ ३९ करोड २७ लाख र जगेडा कोषमा २अर्ब ३८ करोड रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ । यसबाट बैंकले सेयरधनीलाई साढे ११ प्रतिशत लाभांश बाँड्न पुग्छ ।
खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष १९.४० रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी १.३० रुपैयाँ घटेर १८.११ रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८२.१७ रुपैयाँ, खराब कर्जा ३.०१ प्रतिशत, मूल्य आम्दानी अनुपात २२.८१ प्रतिशत, बेसरेट १२.०१ प्रतिशत र सीसीडी रेसियो ८८.७१ प्रतिशत रहेको छ ।