काठमाडौं । भारतले चालम निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा त्यसको असर देखिन थालेको छ । भारतले बासमति बाहेक अरु सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको एकसाता नबित्दै नेपाली बजारमा मूल्य बढेको हो ।
भारतकोे उपभोक्ता मामिला मन्त्रालयले गत साता यस वर्ष धान उत्पादन कम हुनसक्ने भन्दै घरेलु बजारमा मूल्य वृद्धि कम गर्न निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतको सो घोषणा लगत्तै नेपाली बजारमा चामलको अघोषित रुपमा भाउ बढ्न थालेको हो ।
अहिले नै भारतको प्रतिबन्धको असर नपरे पनि व्यापारीहरुले आफूखुसी चामलको भाउ बढाएका छन् । केही व्यापारीहरुले गोदाममा भएको चामल लुकाएर भाउ बढाएर पठाएको खुद्रा व्यापारीहरु बताउँछन् । अहिले बजारमा चामलको मूल्य प्रतिबोरा १०० देखि ३०० रुपैयाँसम्म बढिसकेको छ ।
सरकारले प्रभावकारी अनुगमन नगर्दा व्यापारीहरुले मनलाग्दी रुपमा चामलको भाउ बढाएका हुन् । विगतमै आयात गरिएको चामल स्टकमा रहे पनि व्यापारीले प्रतिबन्धको हल्लाको मौकाछोप्दै मूल्य बढाएका हुन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले यसको प्रभाव नेपालमा चामलको मूल्यमा पर्न जाने बताए । उनले भारतबाट चामल नआउने भएपछि तेस्रो मुलुकबाट ल्याउनु पर्ने भएकाले मूल्य वृद्धिको समस्या भोग्नु पर्ने बताए ।
उनले चामल आयातमा रोक लगाए पनि धान आयातमा भने भारतले रोक नलगाएको बताए । ‘भारतले धानमा रोक लगाएको छैन, चामलमा मात्र रोक लगाएको त्यसले गर्दा तेस्रो मुलुकबाट चामल ल्याउनु पर्ने हुनसक्छ, यसले सिधै चामलको बजार मूल्यमा प्रभाव पार्ने देखिन्छ,’ सन्जेलले चाणक्य पोष्टसँग भने ।
यस्तै, उनले चामल आयात ३० प्रतिशत हाराहारीले घटेको बताए । भारतबाट समेत चामलको तुलनामा धान धेरै आयात हुने गरेको छ ।
धान रोपाइँ घट्ने, झन्डै १५ लाख मेट्रिकटन धान नपुग्ने
यस वर्ष नेपालका लागि झन्डै १५ लाख मेट्रिकटन धान नपुग्ने अनुमान गरिएको छ । नेपालमा वार्षिक ६५ लाख टन धानको माग रहेको छ । विगतका वर्षहरूमा नेपालमा वार्षिक झन्डै ५५ लाख टन धान उत्पादन हुने गरेको थियो । तर, यस वर्ष अहिलेसम्म तराईमा वर्षा कम हुँदा र पहाडी क्षेत्रमा लम्पीस्किन रोगका कारण गत वर्षको जति रोपाइँ हुन सकेको छैन । जसकारण धान उत्पादन घट्नसक्ने मन्त्रालयले जनाएको छ ।
गत वर्ष साउन पहिलो सातासम्म ८८ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ६८ प्रतिशत मात्र भएको छ । यस वर्ष गत वर्षको तुलनामा ५ प्रतिशत कम रोपाइँ हुने देखिएको मन्त्रालयले जनाएको छ । सरकारले यस वर्ष १४ लाख ९५ हजार हेक्टर हाराहारी क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको थियो । हालसम्म ९ लाख २९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ ।
यो वर्ष देशभर ५ प्रतिशत हाराहारीमा धान रोपाइँ घट्ने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता सञ्जेलले बताए । यो वर्ष मनसुन ढिला सुरू भएका कारण धान रोपाइँ हुन ढिला भएको उनले बताए । उनले रोपाइँ ढिला सुरू भए पनि सबै क्षेत्रमा रोपाइँ गरिने बताए । उनले हाइब्रीड बीउहरू धेरै लगाइएको कारण रोपाइँ कम भए पनि त्यसको उत्पादकत्वमा धेरै कमी नआउने दाबी गरे ।
यस्तै, कृषक समुह संघका अध्यक्ष नवराज बस्नेत भने यो पटक पशुपन्छिमा देखिएको लम्पी रोगले गर्दा पहाडी क्षेत्रमा धान रोपाइँमा कमी आउने छ । उनले धान रोपाइँ कम भए पनि विगतमा भारतबाट आयातीतले धान्ने गरेको बताए ।
उनले नेपालमा कुल १४ लाख ९५ हजार हेक्टर जग्गा धानखेतीका लागि योग्य भए पनि देशभरको सिँचाइ आकाशे पानीमा निर्भर भएका कारणले उत्पादत्वमा कमी आउन सक्ने बताए । खेतीयोग्य जग्गाको करिब ३८ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको सरकारी आँकडा ।
आकाशे पानीकै भरमा धान बाली लगाउनुपर्ने बाध्यताको अन्त्य नहुँदासम्म धानमा आत्मनिर्भर हुने सरकारको लक्ष्य पूरा हुन नसक्ने उनले बताए ।
भोकमारी आउने खतरा
सरकारले कृषि उत्पादकत्व नबढाउने हो भने भोकमारीको सामना गर्नुपर्ने दिन आउने जानकारहरू बताउँछन् । नेपाल आयातमा मात्रै निर्भर रहने र निर्यातकर्ता देशहरूले पनि प्रतिबन्ध लगाउँदा नेपालमा खाद्यन्न अभाव हुने उनीहरूको भनाइ छ ।
कृषिविज्ञ कृष्ण पौडेल धान रोपाइँका लागि सरकारले किसानलाई सहज वातावरण सृजना नभए एक दिन भोकमारी खेप्नुपर्ने दिन आउने बताए ।
‘नेपालमा अहिले आफ्नो उत्पादनले खान पुग्ने अवस्था छैन, विदेशबाट किनेर ल्याउन पनि पाइँदैन । अहिले भारतले प्रतिबन्ध लगायो, भोलि अरुले पनि लगाउलान्,’ उनले भने, ‘यस्तो अवस्थामा नेपालमै उत्पादन बढाउनुको विकल्प छैन । नत्र भोकमारी भोग्नुपर्ने दिन आउँछ ।’
उनले धानसँगै अन्य खाद्यबालीको उत्पादन समेत बढाउनुपर्ने जोड दिए । साथै, भात मात्रै खाने खानपिन शैली पनि बदल्नुपर्ने उनको भनाइ छ ।