एक वर्षमा नेपालकाे व्यापार घाटा साढे १४ खर्ब, निर्यात २१ प्रतिशतले घट्यो

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्ब बढी व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष नेपालले १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको हो ।

यद्यपि, अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत वर्ष व्यापार घाटामा १५.४५ प्रतिशतले कमी आएको छ । सरकारले लगाएको आयात प्रतिबन्ध र अर्थतन्त्रमा आएको संकुचनको कारण वस्तुको मागमा कमी आउँदा व्यापार घाटामा सुधार आएको हो ।

नेपालले गत वर्ष कुल १७ खर्ब ६८ अर्बको वैदेशि व्यापार गरेको छ ।  जसमा कुल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने नेपालबाट १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जबकि अघिल्लो वर्षमा १९ खर्ब २० अर्बको वस्तु आयात हुँदा २ खर्बको निर्यात भएको थियो ।

गत वर्ष आयात र निर्यात दुवैमा गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा आयात १६.०८ प्रतिशत र निर्यात २१.४४ प्रतिशतले घटेको छ ।

सरकारले २०७८ देखि गाडी, मदिरा लगायत १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो भने २०७९ पुसदेखि उक्त बन्देज हटाएको थियो । पुसदेखि प्रतिबन्ध घटे पनि बजारमा उपभोग्य वस्तुको माग नहुँदा आयात पनि घटेको हो ।

गत वर्ष आयात घटेसँगै सरकारको राजस्व लक्ष्य समेत प्रभावित भएको थियो । सरकारले लक्ष्यको ७० प्रतिशत मात्र राजस्व उठाएको थियो । गत वर्ष सरकारले वस्तु आयातबाट ३ खर्ब ७७ अर्ब भन्सार राजस्व संकलन गरेको छ ।

नेप्सेमा दोहोरो अंकको करेक्सन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको करेक्सन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

८ भन्सारबाट निर्यात शून्य, २३ प्रतिशत वस्तु जहाजबाट विदेशियो Read Next

८ भन्सारबाट निर्यात शून्य, २३ प्रतिशत वस्तु जहाजबाट विदेशियो