८ भन्सारबाट निर्यात शून्य, २३ प्रतिशत वस्तु जहाजबाट विदेशियो

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा ८ भन्सार कार्यालयबाट निर्यात शून्य भएको छ । नेपालले वैदेशिक व्यापार गर्दै आएका २७ भन्सार नाकामध्ये ८ वटाबाट कुनै पनि वस्तु निर्यात नभएको हो ।

सरकारी बेवास्ता, आवश्यक पूर्वाधारको अभाव र छिमेकी देशको असहयोगका कारण यी भन्सारबाट निर्यात हुन नसकेको हो । २७ वटै भन्सारबाट वस्तु आयात हुने भए पनि निर्यातका लागि आवश्यक व्यवस्था मिलाइएको छैन ।

भन्सार विभागका अनुसार गत वर्ष भद्रपुर, जनकपुर, महेशपुर, राजविराज, सिराहा, सुनसरी, टाँडी र त्रिवेणी भन्सारबाट कुनै वस्तु निर्यात भएको छैन । जबकी गत वर्ष यी भन्सार कार्यालयबाट ७ अर्ब ७६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

नेपालले भद्रपुर, भैरहवा, विराटनगर, वीरगञ्ज, ड्राइपोर्ट, गौर, जलेश्वर, जनकपुर, कैलाली, कञ्चनपुर, कृष्णनगर, महेशपुर, मेची, नेपालगन्ज, राजविराज, रसुवा, सर्लाही, सती, सिराहा, सुनसरी, सुथौली, तातोपानी, त्रिवेणी, टाँडी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थल भन्सार नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्दै आएको छ ।

विराटनगर नाकाबाट मात्रै एकचौथाई निर्यात

गत वर्ष २७ मध्ये १९ भन्सार नाकाबाट वस्तु निर्यात भएको छ । जसमा ४ भन्सार कार्यालयबाट मात्रै कुल निर्यातको ८५ प्रतिशत अर्थात्  १ खर्ब ३३ अर्ब  रूपैयाँ बढीको वस्तु निर्यात भएको छ ।

विराटनगर भन्सार नाकाबाट सबैभन्दा धेरै अर्थात् एकचौथाई बढी वस्तु निर्यात भएको छ । गत वर्ष कुल १ खर्ब ५७ अर्बको वस्तु निर्यात भएकोमा विराट नगर भन्सारबाट मात्रै ३९ अर्ब ३३ करोडको वस्तु विदेशिएको छ । यो कुल निर्यातको २५.०३ प्रतिशत हो ।

त्यसैगरी, देशकै सबैभन्दा ठूलो वीरगञ्ज भन्सारबाट ३६ अर्ब ६७ करोडको वस्तु निर्यात भएको छ । तेस्रो धेरै वस्तु निर्यात हुनेमा त्रिभुवन विमानस्थलबाट ३५ अर्ब ५४ करोड अर्थात् २२.७५ प्रतिशत निर्यात भएको छ ।

यस्तै, मेची भन्सारबाट २२ अर्ब, भैरहवाबाट १० अर्ब ५३ करोड, ड्राइपोर्टबाट ५ अर्ब, नेपालगञ्जबाट २ अर्ब ४७ करोड, जलेश्वरबाट १ अर्ब ६१ करोड, कृष्णानगरबाट १ अर्ब ५८ करोड र रसुवा भन्सारबाट १ अर्ब १९ करोडको वस्तु निर्यात भएको छ ।

९ वटा भन्सार कार्यालयबाट भने १ अर्ब कमको वस्तु निर्यात भएको छ । जसमा सती भन्सारबाट सबैभन्दा कम १ लाख ८६ हजारको वस्तु विदेशिएको छ ।

वीरगञ्जबाट मात्रै ३७ प्रतिशत आयात

गत वर्ष वीरगञ्ज भन्सार नाकाबाट सबैभन्दा धेरै अर्थात् एकतिहाई बढी वस्तु आयात भएको छ । कुल १६ खर्ब ११ अर्ब बढीको वस्तु आयात भएकोमा वीरगञ्जबाट मात्रै ५ खर्ब ९३ अर्बको वस्तु आयात भएको छ । यो कुल आयातको ३६.८२ प्रतिशत हो ।

यस्तै, भैरहवा भन्सारबाट २ खर्ब ४४ अर्ब, ड्राइपोर्टबाट २ खर्ब २ अर्ब, विराटनगरबाट १ खर्ब ८६ अर्ब, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब ५४ अर्बको वस्तु आयात भएको छ ।

त्रिवेणी भन्सारबाट सबैभन्दा कम २७ लाख ४१ हजार रुपैयाँको वस्तु आयात भएको विभागको तथ्यांक छ ।

 

 

एक वर्षमा नेपालकाे व्यापार घाटा साढे १४ खर्ब, निर्यात २१ प्रतिशतले घट्यो Read Previous

एक वर्षमा नेपालकाे व्यापार घाटा साढे १४ खर्ब, निर्यात २१ प्रतिशतले घट्यो

नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो, जीडीपीकाे ४६ प्रतिशत पुग्यो Read Next

नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो, जीडीपीकाे ४६ प्रतिशत पुग्यो