काठमाडौं । विदेश भ्रमणमा जाने नेपाली नागरिकले पाउने सहटी सविधा बढेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधावापत् १ वर्षमा दुई पटकसम्म अमेरिकी डलर २ हजार ५०० सटही सुविधा उपलब्धगराउने भएको हो ।
हाल १ हजार ५०० डलर मात्र साट्न पाइने सुविधा छ । यसअघि वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै केन्द्रीय बैंकले न्यून मात्रामा मात्रै डलर सटही सुविधा पाउने व्यवस्था गरेको थियो ।
हवाई सेवा प्रदायकहरुलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा नियामक निकायको स्वीकृतिमा वा तोकिएका कागजात समेतको आधारमा अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम क वर्गका वाणिज्य बैंकमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ ।
कोभिड–१९ को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयामा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था मौद्रिक नीतिले हटाइएको छ । बैंक तथा वित्तीय संस्थाले यस बैंकको स्वीकृतिमा भित्र्याएको बाह्य ऋणमा अन्तर्निहित विदेशी विनिमय जोखिम व्यवस्थापनका लागि स्वापलगायतका उपकरणका सम्बन्धमा गरिएको अध्ययनका आधारमा त्यस्ता उपकरण उपलब्ध हुने व्यवस्था गरिने भएको छ ।