काठमाडौं । अन्तर बैंक ब्याजदर ह्वात्तै बढेको छ । गत सातासम्म आधा प्रतिशतभन्दा कम रहेको अन्तर बैंक ब्याजदर साउन लाग्ने बित्तिकै साढे ६ प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असार ३१ गते ०.५३ प्रतिशत रहेको अन्तर बैंक ब्याजदर साउन २ गते ६.५१ प्रतिशत पुगेको छ ।
अधिक तरलता कम भएसँगै अन्तर बैंक ब्याजदर ह्वात्तै बढेको हो । नेपाल राष्ट्र बैंकले साउन १ गते बैंकहरुमा स्थानीय तहको खातामा रहेको ८० अर्ब रुपैयाँ निक्षेप आफ्नो खातामा सारेपछि तरलतामा कमी आएको छ ।
यसअघि अधिक तरलता हुँदा बैंकहरुले अन्तर बैंक सापटी समेत चलाउन छाडेका थिए । जसकारण ब्याजदर ०.२३ प्रतिशतसम्म झरेको थियो । राष्ट्र बैंकले प्रणालीबाट ८० बढी बढी निक्षेप तानेपछि फेरि बैंकहरुले अन्तर बैंक सापटी चलाउन थालेका हुन् ।
यद्यपि, अहिले पनि बैंकिङ प्रणालीमा लगानी योग्य रकम पर्याप्त रहेको छ । राष्ट्र बैंककै तथ्यांक अनुसार हाल प्रणालीमा साढे ३ खर्ब बढी लगानी योग्य रकम छ ।
राष्ट्र बैंकका अनुसार साउन २ गते समग्र बैंकिङ प्रणालीको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८२.९९ प्रतिशत छ । जबकि राष्ट्र बैंकले यस्तो सीमा ९० प्रतिशत तोकेको छ ।
अर्थतन्त्रमा आएको संकुचन, महँगो ब्याजदर लगायत कारणले अझै कर्जाको माग बढ्न सकेको छैन । कर्जाको माग नहुँदै पैसा बैंकमै थुप्रिएर बसेको छ ।