साउन १४ देखि आइपीओ बिक्री गर्दै मिड सोलु हाइड्रोपावर

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले साउन १४ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० कित्ता सेयर बिक्री गर्ने भएको हो । सोमध्ये ५ लाख ६१ हजार ३०० कित्ता आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरुलाई छुट्याइएको छ । बाँकी १ लाख ८७ हजार १०० कित्ताका माथि उल्लेखित बाहेक सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन पाउने छन् ।

यसैगरी, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीको आइपीओमा लगानीकर्ताले यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो आइपीओमा साउन २८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर नबिकेमा स्थानीयले मात्र ढिलोमा भदौ ११ गतेसम्म आवेदन दिन पाउने छन् ।

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआइसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइटबाट पनि अनलाइन आवेदन दिन सक्नेछन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा रहेको छ।

राष्ट्र बैंकको कडाइपछि एकतिहाईले घट्यो सेयर कर्जा Read Previous

राष्ट्र बैंकको कडाइपछि एकतिहाईले घट्यो सेयर कर्जा

आधा प्रतिशतमा झरेको अन्तर बैंक ब्याजदर एकैपटक ६.५ प्रतिशत पुग्यो Read Next

आधा प्रतिशतमा झरेको अन्तर बैंक ब्याजदर एकैपटक ६.५ प्रतिशत पुग्यो