राष्ट्र बैंकको कडाइपछि एकतिहाईले घट्यो सेयर कर्जा

काठमाडौं । सेयर धितो कर्जा (मार्जिन नेचर लोन) झन्डै एकतिहाईले घटेको छ । नेपाल राष्ट्र बैंकको कडाइपछि पछिल्लो दुई वर्षमा सेयर धितो कर्जा ३० प्रतिशतले घटेको हो ।

राष्ट्र बैंकले आव २०७८/७९ को मौद्रिक नीतिमार्फत एक व्यक्तिले एउटा बैंकबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड बढी ऋण लिन नपाइने व्यवस्था गरेको थियो । त्यस्तै, सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याएको थियो । त्यसयता बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर कर्जा ह्वात्तै घटेको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार २०७८ असारसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा गत वर्ष २०७९/८० जेठ मसान्त आइपुग्दा ३१ अर्ब ५८ करोड रुपैयाँले घटेर ७४ अर्ब ६९ लाख रुपैयाँमा सीमित भएको छ ।

राष्ट्र बैंकको कडाइपछि पहिलो वर्ष सेयर कर्जा २६ अर्बले घटेर २०७९ असाररम्म ८० अर्ब ५० करोडमा झरेको थियो भने गत वर्ष ६ अर्बले घटेर ७४ अर्ब ९३ करोड रुपैयाँमा आइपुगेका छ ।

कोभिडपछि अर्थतन्त्र पुनरुत्थानमा अधिक कर्जा प्रवाह हुँदा बैंकिङ प्रणालीमा तरलता अभाव भयो । उक्त रकम सेयर बजार र घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा गएको आशंकामा राष्ट्र नीतिगत कडाइ सुरु गरेको थियो । राष्ट्र बैंकको कडाइपछि स्वयम् बैंक तथा वित्तीय संस्थाहरूले नै सेयर कर्जा लगानीमा चासो देखाउन छाडेका थिए । अहिले बैंकिङ प्रणालीमा ४ खर्ब बढी तरलता भए पनि बैंकहरूले सेयर कर्जालाई प्राथमिकता दिएका छैनन् ।

राष्ट्र बैंकले गत वर्ष ४ करोडको सीमा हटाए पनि १२ करोडको सीमा यथावत नै राखेको छ । जसकारण ठूला लगानीकर्ताले आफूले चाहेजति ऋण लिन नपाउँदा पनि सेयर कर्जा लगानीमा गिरावट आएको हो । हुन त गत वर्ष बैंकहरूको समग्र कर्जा विस्तार नै सुस्त रहेको छ । राष्ट्र बैंकले गत वर्ष निजी क्षेत्रतर्फ साढे १२ प्रतिशत कर्जा लगानी गर्ने लक्ष्य राखेको भए पनि ३ प्रतिशत मात्र कर्जा विस्तार भएको छ ।

यस्तै, डेढवर्ष यता नेपाली सेयर बजार बियरिस ट्रेन्डमा छ भने ब्याजदर समेत महँगो छ । घट्दो बजार र महँगो ब्याजका कारण समेत सेयर कर्जाको माग घटेको बैंकरहरू बताउँछन् ।

अघिल्लो वर्ष भदौमा ३१९८ अंक पुगेको नेप्से परिसूचक त्यसयता लगातार घटेर १८०० विन्दुसम्म आइपुगेको थियो भने अहिले २१५० विन्दु हाराहारीमा छ । लगातार बजार घट्दा लगानीकर्ताले पनि ऋण लिएर सेयर किन्ने आँट गरेका छैन ।

यसै समय वित्तीय प्रणालीमा तरलता अभावले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुग्यो । एकातिर नियामकको नीतिगत कडाइ र अर्कोतिर उच्च ब्याजदरका कारण घट्दो बजारमा लगानी गरेर डुब्ने जोखिम देखिएकाले धेरैले सेयर कर्जाको माग नै गरेनन् । लगानीकर्ताको मनोबल खस्किँदा पनि सेयर कर्जाको माग पनि बढ्न नसकेको वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् ।

 

शनिबार काठमाडौंका यी ठाउँमा दिनभर बिजुली जाने Read Previous

शनिबार काठमाडौंका यी ठाउँमा दिनभर बिजुली जाने

साउन १४ देखि आइपीओ बिक्री गर्दै मिड सोलु हाइड्रोपावर Read Next

साउन १४ देखि आइपीओ बिक्री गर्दै मिड सोलु हाइड्रोपावर