ऋण तिर्न नसक्नेको संख्या दोब्बरले बढ्यो, एक वर्षमै ३० हजार परे कालोसूचीमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्न नसकेर कालोसूचीमा पर्नेको संख्या दोब्बरभन्दा धेरैले बढेको छ । पछिल्लो एक वर्षमा मात्रै कालोसूचीमा पर्नेको संख्या १२७.४२ प्रतिशतले बढेको हो ।

कर्जा सूचना केन्द्का अनुसार गत आर्थिक वर्ष २०७९/८० मा मात्रै २९ हजार ८४३ जना कालोसूचीमा परेका छन् । यो संख्या अघिल्लो आर्थिक वर्ष २०७८/७९ को भन्दा १६ हजार ७२१ बढी हो । अघिल्लो वर्ष १३ हजार १२२ जना कालोसूचीमा परेको केन्द्रको तथ्यांक छ ।

कोभिडपछि कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ । अर्थतन्त्रमा आएको संकटले ऋणीको व्यापार व्यवसाय चौपट हुँदा र चेक बाउन्सका घट्दा बढ्दा कालोसूचीमा पर्नेको संख्या वर्षेनी दोब्बरले बढिरहेका हो । पछिल्लो दुई वर्षमा मात्रै ४३ हजार बढी कालोसूचीमा परिसकेका छन् ।

आव २०७४/७५ मा १ हजार  ३३५, आव २०७५/७६ मा १ हजार ९७५ जना, आव २०७६/७७ मा ३ हजार  १८१ जना, आव २०७७/७८ मा ४ हजार ६२९ जना कालोसूचीमा परेका थिए ।

धेरैजसो अनुत्पादक क्षेत्रमा गरेको लगानी डुब्ने गरेको नेपाल राष्ट्र बैंकको भनाइ छ । अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्ने र कर्जा तिर्न नसके पछि कालोसूचमिा पर्ने राष्ट्र बैंकको दाबी छ । यद्यपि, धेरै उत्पादनमूलक उद्योग र तिनका सञ्चालक समेत कालोसूचीमा पर्ने गरेका छन् ।

विशेष गरेर सेयर बजार तथा घरजग्गामा गरेको लगानी डुबेर कर्जा तिर्न नसकेपछि कालोसूचीमा पर्ने गरेको जानकारहरु बताउँछन् । त्यस्तै, चेक बाउन्स हुनेहरु पनि कालोसूचीमा पर्ने गरेका छन् ।

कालोसूचीमा पर्नेको संख्या तीव्र रुपमा बढेसँगै बैंकिङ क्षेत्रमा समेत असर परेको छ । कर्जा असुली नहुँदा बैंकहरुको खराब कर्जा ह्वात्तै बढेको छ ।

फ्याक्ट्स रिसर्चद्वारा ‘फ्याक्ट्स अफ नेपाल २०२३’ सार्वजनिक Read Previous

फ्याक्ट्स रिसर्चद्वारा ‘फ्याक्ट्स अफ नेपाल २०२३’ सार्वजनिक

सुनको मूल्यले बनायो हालसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ? Read Next

सुनको मूल्यले बनायो हालसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?