काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट करिब १०० किलो सुन जाँचपासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्ने भएको छ । भन्सार विभागले उक्त सुन जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने प्रक्रिया सुरु गरेको हो ।
साथै विभागले उक्त घटनाको बारेमा छानबिन गर्न समिति बनाएको छ । विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन गरेको हो । समितिले जाँचपासमा संलग्न साथै अन्य कर्मचारीको संलग्नता बारे समेत छानबिन गर्नेछ ।
बुधबार स्कुटर र मोटरसाइकल ‘ब्रेक शु’को नाममा विमानस्थल भन्सारबाट उक्त सुन पास भएको थियो । भन्सारबाट पास भएको उक्त सुन ट्याक्सीमा राख्दै गर्दा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
उक्त सुन मंगलबार हङकङबाट क्याथे फ्यासिफिकको जहाजमार्फत ल्याइएको थियो । विमानस्थलबाट एकैपटक यति ठूलो परिणाममा सुन बरामद भएको यो पहिलो घटना हो ।
सुन बरामदपछि अनुसन्धानका क्रममा हालसम्म ६ जना पक्राउ परेका छन् भने संलग्न मुख्य गिरोहको खोजी भइरहेको छ ।