काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकेको समयसीमा भित्र चुक्ता पूँजी पुर्याउन अधिकांश बीमा कम्पनी असफल भएका छन् ।
प्राधिकरणले २०८० असार मसान्त (थपिएको समय) भित्र चुक्ता पूँजी पुर्याउने भने पनि १८ कम्पनीले पुर्याउन नसकेका हुन् । यस अवधिमा ७ वटा कम्पनीले मात्र चुक्ता पूँजी पुर्याएका छन् ।
प्राधिकरणले असारसम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो । सो समय भित्र ३ वटा जीवन बीमा र ४ बटा निर्जीवन बीमा कम्पनीले मात्र तोकिएको चुक्ता पूँजी कायम गरेका छन् ।
असारसम्म जीवनतर्फ नेपाल लाइफ, हिमालयन लाइफ र नेशनल लाइफले ५ अर्ब चुक्ता पूँजी पुर्याएका छन् । त्यस्तै, निर्जीवनतर्फ प्रुडेन्सियल आइजीआइ, शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी (सलिको)ले चुक्ता पूँजी पुर्याएका छन् । अझै १० वटा जीवन बीमा (मेट लाइफ बाहेक) र ८ वटा निर्जीवन (नेशनल र ओरियन्टल बाहेक)ले चुक्ता पूँजी पुर्याउन बाँकी छ ।
प्राधिकरणले २०७९ चैतमा जीवन र निर्जीवन बीमा कम्पनीलाई एक वर्ष भित्र साढे दुई गुणाले पूँजी बढाउन निर्देशन दिएको थियो । प्राधिकरणको सो निर्देशनपछि चुक्ता पूँजी पुर्याउन बीमा कम्पनीहरू धमाधम मर्जरमा गए । यस अवधिमा २३ वटा बीमा कम्पनी मर्जर प्रक्रियामा सहभागी भए पनि अधिकांशले चुक्ता पूँजी पुर्याउन नसकेका हुन् । 
यद्यपि, मर्जरमा गएका कम्पनीले गत वर्षको नाफाबाट लाभांश दिएर र लाभांश दिँदा पनि नपुग्नेले हकप्रद सेयर जारी गरेर पूँजी पुर्याउने देखिन्छ । यस अवधिमा मर्जरमा सहभागी भएका ११ बीमा कम्पनीको अस्तित्व समाप्त भइसकेको छ । एक वर्षअघि बीम कम्पनीको संख्या ३९ रहेकोमा अहिले घटेर २८ वटामा सीमित भएको छ ।
मर्जरमा गएकाले हकप्रद सेयर जारी गर्न पाउने
एकआपसमा मर्जरमा गएर पनि चुक्ता पूँजी कायम गर्न नसकेका कम्पनीलाई प्राधिकरणले हकप्रद सेयर जारी गर्न दिने जनाएको छ ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीको गत असार मसान्तसम्मको वित्तीय विवरण हेरेर अपुग पूँजी पुर्याउन हकप्रद जारी गर्न दिने निर्णय गरिने बताए ।
‘बीमा कम्पनीहरूको यसै असारसम्मको वित्तीय विवरण हेरेर प्राधिकरणले निर्णय गर्छ,’ उनले भने, ‘कम्पनीहरूको बोनस सेयर र त्यसपछि पनि नपुगेको रकमको लागि राइट सेयर जारी गर्ने अनुमति दिन्छौं ।’
हकप्रद जारी गर्ने छुट मर्जर तथा एक्विजीसनमा सहभागी भएका कम्पनीहरूले मात्रै पाउने उनले बताए । तर, अधिकांश कम्पनी मर्जरमा सहभागी भएका छन् । मर्जर प्रक्रियामा नगएका केही कम्पनीले पनि आइपीओ, विदेशी लगानी ल्याएर समेत पूँजी पुर्याउने योजना बनाएका छन् ।

मर्जरमा गएर पनि चुक्ता पूँजी पुर्याउन नसकेका जीवनतर्फ सूर्यज्योति लाइफ, सानिमा रिलायन्स लाइफ र प्रभुमहालक्ष्मीले हकप्रद सेयर जारी गर्न पाउने छन् । त्यस्तै, निर्जीवनतर्फ हिमालयन एभरेष्ट, सानिमा जीआइसी र युनाइटेड अजोडले हकप्रद सेयर बिक्री गर्न पाउनेछन् । यद्यपि, यी मध्ये केही कम्पनीले लाभांश वितरणबाटै चुक्ता पूँजी पुर्याउन सक्ने देखिन्छ ।
यी कम्पनी दबाबमा
मर्जरमा सहभागी नभएका जीवनतर्फ एशियन लाइफ र राष्ट्रि बीमा संस्थान तथा निर्जीवनतर्फ प्रभु, नेपाल इन्स्योरेन्स र राष्ट्रिय बीमा समिति पूँजी वृद्धिको दबाबमा छन् । हाल एसियन लाइफको पूँजी ३ अर्ब १५ करोड रुपैयाँ छ । कम्पनीलाई तोकिएको पूँजी कायम गर्न १ अर्ब ८५ करोड रुपैयाँ आवश्यक पर्छ ।
यसैगरी, प्रभुको हाल १ अर्ब ३७ करोड पूँजी छ भने तोकिएको पूँजी पुर्याउन १ अर्ब १३ करोड आवश्यक पर्ने देखिन्छ । यस कम्पनीको क्यापिटल प्लान विदेशी लगानी भित्र्याएर पूँजी पुर्याउने छ । नेपाल इन्स्योरेन्सको हाल डेढ अर्ब पूँजी छ । यसले कम्पनीलाई तोकिएको पूँजी कायम गर्न १ अर्ब रुपैयाँ आवश्यक पर्छ ।
आएएमई लाइफले आइपीओ जारी गरिसकेको छ भने सिटिजन, रिलायबल नेपाल र प्रभुमहालक्ष्मी आइपीओ निष्कासन गर्ने प्रक्रियामा छन् । यी सबै कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने भएकाले प्रिमियम बापत प्राप्त हुने रकम लाभांश दिएर सजिलै पूँजी पुर्याउन सकने देखिन्छ ।
नेशनल, आरेन्टल र मेटलाईफ विदेशी कम्पनीका शाखा भएकले यिनले तोकिएको चुक्ता पूँजी पुर्याउनु पर्ने छैन । ,