काठमाडौं । मौलाकाली र लुम्बिनी केबलकारले विशेष छुट अफर ल्याएका छन् । मौलाकालीले इभिनिङ् अफर र लुम्बिनीले मर्निङ अफर ल्याएका छन् ।
दुवै कम्पनीको अफर अन्तर्गत यात्रुले हालको टिकट मूल्यमा ५० प्रतिशत छुट पाउने छन् । अर्थात् अहिलेकोभन्दा आधा मूल्यमै केबलकारमा दुईतर्फी यात्रा गर्न सक्नेछन् ।
यस्तो छ मौलाकाली केबलकारको इभिनिङ अफर
मौलाकाली केबलकारले टिकटमा ५० प्रतिशत छुट सहित इभिनिङ् अफर ल्याएको छ । यही साउन देखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ ।
यस अफर अन्तर्गत प्रत्येक बुधबार दिउँसो २ बजेपछि केबलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केबलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए ।
हाल केबलकारको दुइतर्फी साधारण टिकट मूल्य ५५० रुपैयाँ कायम छ । यस अफर अन्तर्गत अब यात्रुले २७५ रुपैयाँमै दुइतर्फी यात्रा गर्न पाउनेछन । यो अफरले आम सर्वसाधारणलाई सस्तो मूल्यमा केबलकारमा यात्रा गर्ने अवसर मिल्नेछ, साथै दर्शनार्थीहरूलाई दिउँसो पनि मन्दिर जान प्रेरित गर्नेछ । यसबाट मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्यामा पनि उल्लेख्य वृध्दि हुने अपेक्षा छ ।
‘दिउँसो गर्मीको समयमा दर्शनार्थीहरू मन्दिर कम जाने गरेकोमा यो अफरले केही हदसम्म दिउँसो मन्दिर जाने क्रम बढाउने हामीले विश्वास लिएका छौं,’ केबलकारका स्टेशन मेनेजर पौडेल बताउँछन् ।
मौलाकालिका मन्दिरमा यसअघिका वर्षहरूको तुलनामा यो सिजनमा भक्तजनको संख्यामा उल्लेख्य वृध्दि भएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार मौलाकाली केबलकार संचालनमा आएपछि मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको संख्या करीब २५ प्रतिशतले बढेको छ ।
धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वैशाख १ गतेदेखि संचालनमा आएको मौलाकाली केबलकारले बिदाका दिन बाहेक बिहान ६ बजेदेखि भक्तजनहरूलाई सेवा दिंदै आएको छ । शनिबार र अन्य बिदाका दिनमा बिहान ५स्३० देखि केबलकार संचालन हुने गरेको छ ।
लुम्बिनी केबलकारले ल्यायो मर्निङ अफर
लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । कम्पनीले साउनको पहिलो बुधबारदेखि लागू हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म मात्र टिकट काट्ने पर्यटकलाई हाल कायम साधारण टिकट मूल्यमा ५० प्रतिशत छुट दिने भएको हो ।
लुम्बिनी केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थ सैजूले नेपाली नागरिकहरूले हरेक बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म ३७५ रुपैयाँमा केबलकारमा यात्रा गर्न पाउने बताए । हाल केबलकारको साधारण टिकट दर ७५० रुपैयाँ छ ।
त्यस्तै, यस अफर अन्तर्गत भारतीय नागरिकले ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ ।
यो अफरले आम सर्वसाधारणलाई समेत निकै सस्तो शुल्कमा केबलकार यात्रा गर्ने अवसर मिल्ने कम्पनीले भनाइ छ । सो वाहेक अन्य समयमा भने पुरानै टिकटदर कायम गरिएको छ ।
लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेबाट व्यवसायिक सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ ।
मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने संख्या बढ्दो क्रममा रहेको आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए ।
टप स्टेशनमा सय वर्ष पुरानो भगवती मन्दिर,महादेव शिवको वाहन नन्दी, वर पिपल चौपारी,पोखरी लगायतका धार्मिक संरचनाहरू रहेका छन् । साउन महिनामा टप स्टेशनमा जलार्पण गर्ने व्यवस्था समेत रहेको कम्पनीले जनाएको छ ।
केबलकारले बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाले ५० प्रतिशतका दरले बांडफाड गर्ने गरी प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापत दिने सम्झौता गरेको छ ।