काठमाडौं । विकास बैंकहरूले दिगो विकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् ।
डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालको कार्य समिति बैठकले विभिन्न उत्पादनमूलक क्षेत्रमा गरिने कर्जा लगानीलाई हरित कर्जा योजनामा समेट्ने निर्णय गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूको लगानी तुलनात्मक रुपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो विकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले ‘हरित कर्जा योजना’ ल्याउने भएका हुन् ।
एशोसियसनका अनुसार कृषिजन्य उद्यम, वनजन्य उद्यम, जल ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जा, वायु ऊर्जा, केबलकार/रोपवे, विद्युतीय सवारी साधन, फोहोर पानी प्रशोधन गर्ने उद्यमलाई हरित कर्जामा समेटिने छ ।
हरित कर्जा योजनामा गरिने लगानीका लागि विस्तारै स्रोतको सुनिश्चतता पनि गर्दै जाने उद्देश्यले ‘हरित निक्षेप योजना’ पनि ल्याइने भएको छ ।
‘हरित निक्षेप योजना’ मा अन्य बचत र मुद्दति निक्षेपमा भन्दा ०.२५ प्रतिशत अंकले बढि ब्याज प्रदान गर्ने र ‘हरित कर्जा योजना’ मा अन्य सोही प्रकृतिको कर्जा योजनामा भन्दा ०.२५ प्रतिशत अंकले कम ब्याजमा कर्जा प्रवाह गर्नेगरी कर्जा योजनाको प्रडक्टपेपर विकास गरिने भएको छ ।
सदस्य बैंकहरूले आ–आफ्ना बैंकको व्यवसायिक रणनीति अनुसार अझ बढी सुविधा दिनेगरी प्रडक्टपेपरलाई विकास गर्न सक्ने निर्णय पनि एशोसियनले गरेको छ । कार्वन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग/व्यवसायले हरित कर्जा सुविधा लिन पाउने छैनन् ।
आ–आफ्ना बैंकका संचालक समितिबाट प्रडक्टपेपर स्वीकृत गराइ ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ बजारमा ल्याउनका लागि एशोसियसनले आफ्ना सदस्य बैंकहरूलाई परिपत्र जारी गरिसकेको छ ।