घुमघाम, बजेट व्यवस्थापन र बोमन इरानी

देश भित्र वा बाहिर घुमफिर गर्नु भनेको मानिसहरुको जिवनको अनन्य पाटो भइसकेको छ । घुमफिरले मानिसहरुलाई काम वा अन्य तनावबाट केही मुक्ति दिनुका साथै पारिवारिक वा साथीभाई बिचको सम्बन्धलाई कसिलो बनाउन पनि मद्दत पुर्याउँछ ।

 

तर, घुमफिरको योजना राम्रो बनाइएन भने मानिसहरु तिनै परिवार वा साथीभाइ माझ लज्जित हुनुपर्ने अवस्था पनि आउनसक्छ ।

 

एउटा किस्सा बलिउडको

 

बलिउडका चर्चित कलाकार बोमन इरानीलाई प्राय सबैले चिनेकै छन् । ‘मुन्ना भाइ’ वा ‘थ्रि इडियट्स’ हेरेका मानिसहरु उनको ‘अदाकारी’ले ‘दिवाना’ भएकै छन् । तर, उनको शुरुवात भने निकै सामान्य थियो ।

 

कुनै समय आफ्नो घरेलु व्यवसाय, आलु तारेर बेच्ने पसलमा आलु तार्दै बसेका उनी करिब ३५ वर्षको उमेरमा पेशा परिर्वतन गर्दै फोटोग्राफर बनेका थिए । बलिउडमा त उनी ४० नाघेपछि मात्र पसेका हुन् ।

फोटोग्राफरको रुपमा काम गर्दै गर्दा उनले करिब ४० वर्षको उमेरमा परिवारलाई भारतको उँटीमा छुट्टि मनाउनको लागि लैजाने निर्णय गरे । त्यो नै उनले परिवालाई घुमाउन लग्न लागेको पहिलो अवसर थियो । सबैजना उत्साहित थिए । उनको ‘एलो पेज’बाट नम्बर हेरेर होटल बुक पनि गरे ।

 

तर, जब उनीहरु उँटी पुगेर होटलको कोठामा पसे, उनी छाङ्गाबाट खसे झैं भए । होटल उनको सामान्य घर भन्दा पनि कम्सल थियो । अत्यन्तै फोहर र बत्ति पनि जिरो वाटको ! परिवारका अन्य सदस्यहरुले पनि साह्रै दिक्क माने ।

 

त्यसपछि उनी साह्रै लज्जित भए र त्यहाँबाट निस्केर रातभरि अर्को होटलको खोजिमा हिँडे । अनी ठिकठाक होटलमा बसे । तर, आफ्नो ७ दिनको घुमाईलाई ४ दिनमा छोट्याएर (नयाँ होटलको मुल्य उनले पहिले बुक गरेको होटलको भन्दा बढी भएका कारण) ।

 

यो घटनालाई उनी आफुले जिवनमा सिकेको सबैभन्दा ठूलो पाठ मान्छन् । घुम्न जाँदा गरिने वित्तीय व्यवस्थापन लगायत अन्य योजनाहरुको महत्व उनले गहिरो ढंग बुझेको बताएका छन् । र, त्यो सिकाई जिवनको अन्य क्षेत्रमा पनि उत्तिकै लागू हुने बताउँछन् उनी ।

 

कुरा नेपालकै

 

पछिल्लो समय घुमफिरमा सौख राख्ने नेपालीहरुको संख्या बढ्दै गएको छ । आन्तरिक पर्यटकीय क्षेत्रदेखि विभिन्न देशमा घुम्न जानेहरुको संख्या प्रशस्तै छ ।

 

विशेषगरी लामो छुट्टीको बेलामा र नवविवाहित जोडी घुम्नका लागि विदेश जाने गरेको पाइन्छ । यस्ता घुमफिरले देश–विदेशको परिवेशबारे परिचित बन्न पनि निकै सघाउँछ । तर घुमफिरमा खर्च पनि उत्तिकै लाग्दछ । अझ घुमफिरका लागि अन्य देशमा जाँदा त झन् धेरै खर्च लाग्छ ।

 

बिना पूर्व तयारी विदेश घुमफिर गर्न जाँदा आर्थिक भार पर्न सक्छ । त्यसैले विदेश वा स्वदेशमा घुमफिर गर्ने चाहना पूरा गर्न वित्तीय योजना बनाउनु जरुरी हुन्छ । नत्र, बोमन इरानीको जस्तै ताल हुन्छ ।

 

राम्रो वित्तीय योजनाले नै तपाईंको विदेशको घुमफिर गर्ने योजना सफल र सुखदायी हुन्छ । आफ्नो विदेश घुमफिर गर्ने योजना कसरी सफल र सुखदायी बनाउने ? यसबारे यहाँ केही चर्चा गरिएको छ ।

 

बजेट बनाउनुहोस्

 

राम्रो बजेट योजनाले सबै वित्तीय लक्ष्य प्राप्त गर्न सहज र सफल हुन सक्छ । त्यसैले विदेश घुम्न जाँदै हुनुहुन्छ भने पहिले बजेट योजना तयार पार्नुहोस् । आफ्नो अनुमानित लागतको हिसाब तयार पानुहोस् ।

 

आफू जाने ठाउँको बारेमा विस्तृतमा जानकारी प्राप्त गर्नुहोस र त्यहाँ गरिने खर्चको सूची तयार पार्नुहोस् । यदि तपाईं जागिरे हुनुहुन्छ भने मासिक आफ्नो घरायसीलगायतका सबै खर्च कटाएर बच्ने रकमले विदेश घुम्न जाँदा लाग्ने अनुमानित खर्चलाई भाग गर्नुहोस् ।

 

यसले विदेश घुम्न जाने तपाईंको लक्ष्य पूरा गर्न हरेक महिना कति बचत गर्नुपर्छ र कति समय लाग्छ भन्ने कुरा प्रस्ट हुन्छ । यसले तपाईंलाई ठूलो सहयोग पुर्याउँछ ।

 

बचत रकम लगानी गर्नुहोस्

 

अब तपाईंको आफ्नो विदेश घुम्न जाने लक्ष्य पूरा गर्न मासिक बचत गरिरहनुभएको रकम आम्दानी हुने ठाउँमा पनि लगाउनुहोस् । यसले तपाईंको बचतसँगै आम्दानी पनि हुन्छ र तपाईंको लक्ष्यभन्दा अगाडि नै विदेश घुम्न जाने योजना पनि पूरा हुन्छ ।

 

अतिरिक्त आम्दानी प्रयोग गर्नुहोस्

 

यदि तपार्इं कुनै कम्पनीमा काम गर्नुहुन्छ र त्यहाँबाट तपाईंलाई बोनस, अलाउन्सजस्ता अतिरिक्त रकम पनि प्राप्त हुन्छ भने त्यसलाई प्रयोग गरी तपाईं आफ्नो विदेश घुम्न जाने योजना सफल पार्न सक्नुहुन्छ ।

 

अझै तपाईंले नियमित कामबाहेक थप ५/६ घन्टा पार्टटाइम जब गर्नुहुन्छ भने पनि त्यो तपाईंको अतिरिक्त आम्दानी हुन आउँछ । यसले पनि तपाईंको विदेश घुम्न जाने लक्ष्यलाई छिटो पूरा गर्न सघाउ पुर्याउन सक्छ । त्यस्तै तपाईंंको जन्म दिन वा विवाह वर्षगाँठमा सगुनका रुपमा प्राप्त हुने अतिरिक्त रकमले पनि तपाईंको विदेश यात्रालाई सफल पार्न सहयोग पुर्याउँछ ।

 

टिकट बुकिङ् छिटो गर्नुहोस्

 

तपाईंको विदेश घुम्न जाने लक्ष्य छ र त्यहीअनुसार बजेट पनि तयार पारिरहनुभएको छ भने पहिले आफू जान चाहेको देश निर्धारण गर्नुहोस् । जानुभन्दा २/३ महिनाअघि नै टिकट बुक गर्नु उपयुक्त हुन्छ । किनकि छिटो टिकट बुक गर्दा तपाईंले त्यसमा छुट प्राप्त गर्न सक्नुहुन्छ र तपाईंको वित्तीय योजना सफल हुन्छ ।

 

ट्राभल लोन लिनुहोस्

 

यदि तपाईंले विदेश घुम्न जानका लागि पैसाको जोरजाम गर्न सक्नुभएन भने कुनै बैंक तथा वित्तीय संस्थाबाट ट्राभल लोन लिनसक्नु हुन्छ । तर यस्तो लोन लिनुअघि पछि तिर्ने योजनालाई पनि पहिले नै राम्रासँग व्यवस्था गर्नुपनि उत्तिकै आवश्य रहन्छ । कतिपय बैंक तथा वित्तीय संस्थाले ट्राभल लोनभन्दा पनि पर्शनल लोनका रुपमा ऋण उपलब्ध गराउँछन् । यसमा उनीहरुले तपाईंको आम्दानीको हिसाबले ऋण प्रवाह गर्छन् ।

हिमालयन बैंकले ३ महिनामा कमायो साढे ६९ करोड खुद नाफा Read Previous

हिमालयन बैंकले ३ महिनामा कमायो साढे ६९ करोड खुद नाफा

नेपाल बंगलादेश बैंकको नाफा ३३ प्रतिशतले बढ्यो Read Next

नेपाल बंगलादेश बैंकको नाफा ३३ प्रतिशतले बढ्यो