१५ दिनमै ५० हजारले लिए प्यान कार्ड, विदेशी नागरिकले यस्ता डकुमेन्ट पेश गर्नु पर्ने
गिता भुजेल
प्रकाशित : 8:38 am, बुधबार, साउन २२, २०७६

Advertisement Section

काठमाडौं । पछिल्लो समय हरेक व्यक्ति जो व्यवसाय वा रोजगारीमा लागेका छन् तिनले अनिवार्य प्यानमा दर्ता हुनु पर्ने बाध्यकारी नियम लागु भएको छ । जस अन्तर्गत नेपालमा रहेका नागरिक तथा विदेशबाट आएर नेपालमै काम गर्दै बसेका व्यवसायी तथा विदेशी नागरिकले समेत अनिवार्य प्यान नम्बर लिनु पर्ने भएको हो ।

 

रोजगारका लागि नेपाल आएका विदेशी कामदारले रोजगार सिफारिस र परिचय पत्र बुझाएर प्यान नम्बर लिन पाउने व्यवस्था रहेको आन्तरिक राजश्व विभागका महानिर्देशक तथा प्रवक्ता यज्ञप्रसाद ढुंगेलले जानकारी दिए ।

 

भातर, चीन वा तेस्रो मुलुकबाट नेपालमा रोजगार गरि बसेका गैरनागरिकका लागि सम्बन्धित दुतावासको कार्ड, परिचयपत्र र रोजगार सिफारिसको पत्र आवश्यक पर्ने उनले बताए ।

 

विदेशी नागरिकका लागि दुतावासको कार्ड, परिचयपत्र, रोजगार सिफारिस पत्र, २ प्रति फोटो आवश्यक पर्ने हुन्छ । यस्तै विभागले आफ्नो वेबसाइटमा रहेको ‘ट्याक्सपेयर पोर्टलमा’ गएर अनलाइन फारम भर्न सक्ने व्यवस्था गरेको छ । यदि अनलाइनबाट निवेदन दिएको हो भने त्यसको प्रतिलिपि लिएर कर कार्यालयमा गएर दरखास्त दिनु पर्छ ।

 

सरकारले आर्थिक वर्ष २०७६/७७ देखि अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्था गरेको हो । २०७५/७६ सालमा व्यवसायीक प्यान अन्तर्गत १ लाख ९९ हजार १ सय ६६ वटा प्यान दर्ता भएको थियो । सो अवधिमा २ लाख २९ हजार ८५० जनाले व्यक्तिगत प्यान दर्ता गराएको विभागले जानकारी दिएको छ ।

 

चालु आर्थिक वर्षको १५ दिनमा ५० हजारको हाराहारीमा व्यक्तिगत प्यान दर्ता भएको उपमहानिर्देशक ढुंगेलले जानकारी दिएका छन् । उनले साउन यता व्यक्तिगत प्यान लिनेको संख्या ह्वातै बढेको बताए । ‘साउन यता तलव लिन वा ठूला कारोवार गर्न प्यान नम्बर आवश्यक पर्ने भएपछि देशभर प्यानमा दर्ता हुनेको संख्या बढेको छ,’ ढुंगेलले चाणक्य पोष्टसँग भने ।

 

प्यान दर्ता बापत २०७५/७६ सालमा कुल २ खर्ब ५८ अर्ब रुपैयाँ राजश्व संकलन भएको थियो । हालसम्म कति विदेशी कर्मचारीले प्यान दर्ता गरे भन्ने कुरा भने खुल्न सकेको छैन । त्यसको बारेमा विभागले समेत तथ्यांक छुट्टै नराखेको उनले जानकारी दिए ।

 

प्यान नम्बर लिने यस्तो छ प्रक्रियाः

 

स्थायी लेखा नम्बर (प्यान) आन्तरिक राजस्व विभाग तथा मातहतका करदाता सेवा कार्यालयहरुले जारी गर्छन् । विभागले प्यान लिनका लागि आफूलाई पाएक पर्ने आन्तरिक राजश्व कार्यालयमा गएर फारम भरी प्यान लिन सक्ने व्यवस्था मिलाइएको छ । नेपालीका लागि सम्बन्धित व्यक्ति आवश्यक कागजात (प्रमाणित परिचयपत्र, दुई प्रति पासपोर्ट साइजको फोटो र कामगर्ने कम्पनीको सिफारिस पत्र) सहित कर कार्यालयमा गएर दरखास्त दिनु पर्दछ ।

 

विदेशी नागरिकका लागि दुतावासको कार्ड, परिचयपत्र, रोजगार सिफारिस पत्र, २ प्रति फोटो आवश्यक पर्ने हुन्छ । यस्तै विभागले आफ्नो वेबसाइटमा रहेको ‘ट्याक्सपेयर पोर्टलमा’ गएर अनलाइन फारम भर्न सक्ने व्यवस्था गरेको छ । यदि अनलाइनबाट निवेदन दिएको हो भने त्यसको प्रतिलिपि लिएर कर कार्यालयमा गएर दरखास्त दिनु पर्छ ।

 

दरखास्त प्राप्त भएपछि आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुले जाँंचबुझ गरी कम्प्यूटर प्रणालीबाट प्यान नम्बर जारी गर्छन् । र, आवेदकलाई सो प्यानको प्रमाणपत्र प्रदान गरिन्छ । हालसम्म नेपालभर व्यवसायीक प्यान लिनेको संख्या ११ लाख १६ हजार पुगेको विभागले जानकारी दिएको छ । व्यक्तिगत प्यान नम्बर दिने करदाताको संख्या ९ लाखको हाराहारीमा रहेको विभागको अनुमान रहेको छ ।

 

नयाँ व्यवस्थासँगै १ हजार रुपैयाँभन्दा कम तलब वा पारिश्रमिक पाउनेले मात्र प्यान नभएपनि तलव पाउने सक्ने व्यवस्था लागू भएको छ । १ हजार रुपैयाँभन्दा धेरै रकम भुक्तानी गर्दा भने अनिवार्य प्यान नम्बर चाहिने व्यवस्था गरिएको हो । प्यान बिना गरिएको भुक्तानीलाई सरकारले कम्पनीको खर्चमा गणना गर्न दिँदैन । यो व्यवस्था सँगै कुनै कम्पनीले कामदार र कर्मचारीलाई दिनुपर्ने पारिश्रमिक बैंकमार्फत दिनुपर्ने भएको छ । त्यसमा प्यान नम्बरसमेत उल्लेख गर्नुपर्ने छ ।

 

प्यानमार्फत भुक्तानी गर्दा कामदारले तिरेको करको यकिन विवरण आन्तरिक राजश्व विभागको तथ्यांकमा रहनेछ । यसबाट पारिश्रमिक पाउने व्यक्तिले आयकर छली गर्ने सम्भावना रहँदैन ।

Advertisement Section