तिहारमा आगलागी भइहाले यसरी गर्नुस् नियन्त्रण, यी हुन् सावधानीका उपाय
चाणक्य पोष्ट
प्रकाशित : 8:31 am, शनिबार, कात्तिक ९, २०७६

तिहारमा बत्तीको प्रयोग बढी हुने हुँदा आगलागीको सम्भावना पनि उत्तिकै रहने गर्छ । बत्तीको प्रयोग सबैभन्दा बढी हुने तिहारको समयमा आगलागीका घटना धेरै हुने गरेको छ । आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटिका कारण हुने घटना हो । त्यसैले, आप्mनो नियन्त्रणमा रहने गरी नै बत्तीको प्रयोग गर्नु उत्तम उपाय हो ।

 

काठमाडौंलगायत सहरी क्षेत्रमा आगलागी हुनुमा ग्यास र विद्युत प्रमुख कारण छन् । ग्यासका कारण ६० प्रतिशत तथा विद्युत‘शट’का कारण ४० प्रतिशत आगलागीका घटना हुने जुद्ध वारुण यन्त्रले जानकारी दिएको छ ।

 

तिहारमा यी दुवै वस्तुको बढी प्रयोग हुने गर्छ । त्यसैले, यस समय आगलागीको सम्भावना धेरै हुने गरेको हो । त्यस्तै, आगलागीको अर्को कारण भनेको यस विषयमा मानिसमा चेतनाको कमी पनि हो । अहिले घर तथा कार्यालयमा पनि आगो निभाउने उपकरण राख्ने प्रचलन बढ्दै गएकाले पहिलाको तुलनामा भने यस्ता दुर्घटनाबाट हुने क्षतिमा भने केही कमी आएको छ ।

 

दुर्घटना हुने कारण

 

तिहारमा ‘धनकी देवी’ लक्ष्मी भित्राउने धार्मिक विश्वाससँगै घर सफा सुग्घर गर्ने, फूलमालाले सजाउने र दियो बाल्ने चलन छ । घर फोहोर भए वा उज्यालो नभए लक्ष्मीले वास नगर्ने भन्ने मान्यताअनुसार तिहारका बेला घर सजाउने तथा घरवरपर उज्यालो बनाउन दियो बाल्ने गरिन्छ ।

 

यसका लागि मानिसले माटोका परम्परागत पाला तथा मैनबतीका साथै इलेक्ट्रीक दियो पनि बाल्ने गरेका छन् । तर, चाडपर्वका बेला यस्ता सामग्रीको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेको निकै सुन्नमा पाइन्छ ।

 

-तिहारमा घरको प्रायः सबैतिर दियो बाल्ने परम्परा छ । चारैतिर दियो बाल्दा आगो लाग्ने सम्भावना बढ्छ । साथै, लक्ष्मी पूजा गर्दा दियो बाल्ने गरिन्छ भने लक्ष्मीलाई कपडा चढाउने गरिन्छ । दियो र कपडा एकै ठाउँमा हुने हुँदा पनि आगो सल्कने सम्भावना हुन्छ । त्यसैले यस्ता कुरामा आफैं सचेत रहनु आवश्यक छ ।

 

-तिहारमा सबैका घरमा इलेक्ट्रीक लाइट बालिन्छ । साथै, घरमा भएका सबै इक्लट्रोनिक्स सामग्री (फ्रिज, माइक्रोओभन, टेलिभिजन, राइसकुकर) पनि एकैपटक प्रयोग गर्ने गरिन्छ । यसरी सबै इलेक्ट्रीक सामग्री प्रयोगमा ल्याउँदा ओभरलोड भई विद्युत् शट हुने सम्भावना हुन्छ ।

 

-डेकोरेटिभ लाइट पनि शट हुने अर्को कारण हो । यस्तो लाइटमा मसिनो तारको प्रयोग गरिएको हुन्छ । यस्तो लाइट धेरैजसो घरबाहिर झुन्ड्याइन्छ । यसरी जथाभावी प्रयोग गर्दा शट हुने सम्भावना हुन्छ ।

 

-आगलागी हुने अर्को प्रमुख कारण ग्यास हो । काठमाडौंलगायत सहरमा घरको छत (भान्साभन्दा बाहिर खुला ठाउँ)मा चूलो बनाउने गरिन्छ । यसरी बाहिर चूलो बनाउँदा ग्यास लिक भएर तथा हावाले आगो बत्ताएर पनि आगो लाग्ने गर्छ । यसैगरी, परिकार बनाउँदा तेलको प्रयोग बढी हुन्छ । पर्वको रमझममा धेरै मानिसको काममा ध्यान पुग्दैन । त्यसैले, कहिलेकाहीँ तेल धेरै तातेर आगो बल्ने, तेल पोखिने, तेल उछिटिएर शरीरमा पर्नेजस्ता दुर्घटना हुन्छन् ।

 

सावधानीका उपाय

 

-दीपावली गरेपछि घरको एक व्यक्तिले दियो व्यवस्थापनको जिम्मेवारी लिनुपर्छ । दियो ननिभेसम्म त्यसमा ध्यान दिइरहनुपर्छ । लामो समयसम्म दियो बाल्नु हुँदैन । लक्ष्मी पूजा गर्दा एकजना व्यक्तिले अनिवार्य रुपमा दियोको रेखदेख गर्नुपर्छ ।

 

-घरमा आवश्यकभन्दा बढी इलेक्ट्रीक लाइट एकैपटक बाल्नु हुँदैन । मुख्य–मुख्य लाइटको मात्रै प्रयोग गर्नुपर्छ । सकेसम्म एकसाथ सबै इलेक्ट्रोनिक्स सामग्रीको प्रयोग गर्नु हुँदैन ।

 

-घरबाहिर सुरक्षित स्थानमा मात्र चूलो बनाउनुपर्छ । तेलमा परिकार बनाउँदा होसियारी अपनाउनु आवश्यक रहन्छ ।

 

-तेलको कराईमा आगो बलेमा पानी हाल्नु हुँदैन । पानी राख्दा आगो झन् बल्छ । त्यसैले, कुनै सामग्रीले कराईलाई ढाक्नुपर्छ । यसो गर्दा अक्सिजन कम हुन गई आगो निभ्छ ।

 

-तेल पोखिएर वा उछिटिएर शरीरमा आगो लागेमा डराएर दौडनु हुँदैन । दौडँदा अक्सिजन धेरै प्राप्त हुनाले आगो झन् बल्ने सम्भावना हुन्छ । त्यसैले, यथास्थानमा नै उभिनुपर्छ । सकेसम्म बाक्लो कपडा वा बोराले शरीर छोपिदिनुपर्छ । भुइँमा पल्टनु पनि उचित हुन्छ । यसो गर्दा अक्सिजन कम हुन गई आगो निभाउन सकिन्छ ।

 

-आगलागी भइहालेमा आत्तिनु हुँदैन । सानो आगो बल्दा पनि आत्तिएर होश गुमाउनाले झन् ठूलो दुर्घटना हुन सक्छ । त्यसैले, सुरक्षित स्थानमा बसेर साहस जुटाउनु पर्छ । सकेसम्म आफैले आगो निभाउने प्रयास गर्ने, नसक्ने अवस्थामा अरुको सहयोग लिने । यस्तै साना प्रयासले पनि ठूलो क्षति हुनबाट जोगिन सकिन्छ ।