तिहार : रंगरोगन र बत्तीको पर्व

‘झिलिमिली बत्तीको चाड’ भनेर चिनिने तिहार तथा छठ पर्व नजिकिँदै गर्दा घर सजावटप्रति आकर्षण बढ्न थालेको छ । तुलनात्मक रूपमा चाडपर्वको समयमा घरको सरसफाइदेखि सजावटमा बढी ध्यान दिइने हाम्रो संस्कृति पनि छ । घरमा नयाँपन ल्याउने चाहना सबैमा हुन्छ । घरको रौनक बढाउने कार्यमा लाइटले मुख्य भूमिका निर्वाह गर्छ । त्यसैले, यो समयमा विभिन्न किसिमका ‘पेन्ट्स तथा लाइट्स’ विक्री हुने गरेको व्यवसायीहरू बताउँछन् । चाडपर्वमा घरमा आफन्तहरू आउने हुँदा पारिवारिक वातावरण उल्लासमय बनाउन पनि मानिसले विविध डिजाइनका लाइट खरीद गर्ने गरेका छन् ।

 

तिहारमा घरभित्र सजावट

घर सजाउन धेरै पैसा खर्च गर्नैपर्छ भन्ने छैन । तर, यसका लागि सजावटबारे ज्ञान हुनु भने आवश्यक छ ।

–  चाडपर्वका बेला कोठामा दुई/तीन प्रकारका रंगको प्रयोग गर्नुपर्छ । कोठामा सुन्तला, नीलो तथा हरियो रंगको प्रयोगले रौनक ल्याउँछ ।

 

–  भित्ताको पूरै रंग फेर्दा झण्झटिलो हुनुका साथै खर्च र समयसमेत धेरै लाग्छ । यसको विकल्पमा पिनको सहायताले सफ्ट बोर्डमा चहकिलो तथा आकर्षक कपडा टाँस्न सकिन्छ । यसले भित्ताको अनाकर्षक वा फोहोर भाग छोप्नुका साथै आकर्षक देखाउन सहयोग पुर्याउँछ ।

 

–  कोठामा नरम कुसन, चकटी, तकिया, डस्ना, कार्पेटलगायतको प्रयोग पनि गर्न सकिन्छ । यसले कोठालाई छुट्टै सौन्र्दय प्रदान गर्छ ।

 

–  चाडपर्वको छनक ल्याउन तथा स्वागत गर्न आफ्नो वासस्थानमा चहकिलो रंगसहितको सजावटका सामग्रीको प्रयोग गर्न सकिन्छ । यसका लागि जरीजडित आफ्ना पुराना साडी तथा अन्य कपडाको प्रयोग गर्न सकिन्छ । त्यस्तै, उक्त पुराना साडीबाट आफ्नो सोफाका कुसनलगायतको खोलको निर्माण गरी सजावटका लागि प्रयोग गर्न सकिन्छ ।

 

–  चाडपर्वको समयमा सुहाउँदो रूपमा आफ्ना कोठामा सजावटका सामग्रीको व्यवस्थापन गर्न सकिन्छ । रंगीन कप–प्लेट, तथा अन्य सामग्री पनि खरीद गर्न सकिन्छ । मध्यान्न तथा साँझको समयमा ताजा फूल तथा मधुरो प्रकाश दिने टी–लाइटको समेत प्रयोग गर्नु उचित रहन्छ ।

 

–  सजावटा क्रममा एकै प्रकारका रंगको प्रयोग गर्नुभन्दा विभिन्न रंगको मिश्रण गर्न सकिन्छ । रंगको सृजनशील प्रयोगले घरमा अझै बढी रैनक थप्न मद्दत पुर्याउँछ ।

 

घरबाहिरको सजावट

 

पहिले मानिसहरू घरको भित्री भागकोे सजावटका लागि धेरै पैसा खर्च गर्नेगर्दथे । उनीहरु घरको बाहिरी भागमा खासै चासो राख्दैन्थे । तर, अहिले मानिसको रुचिमा परिवर्तन आएको छ । घरभित्रका साथै बाहिरी भाग पनि उत्तिकै महत्वपूर्ण छ भन्ने मानिसहरुले महशुस गर्न थालेका छन् । घरबाहिरको सजावटका लागि बगैंचा तथा त्यसमा राखिएका सामग्रीले विशेष सहयोग पुर्याउँछ । बगैंचामा राखिने विभिन्न सामग्रीमध्ये लाइट पनि एक हो । घरको आँगन तथा बगैंचामा राखिएका लाइटले घरमा सुन्दरता थप्छ ।

 

इलेक्ट्रीक, सोलार, ग्यास तथा ‘नन पावर्ड लाइट’ गरी चार प्रकारका लाइट बजारमा उपलब्ध रहेका छन् । यी सबैका फरक विशेषता तथा फाइदा छन् । यीमध्ये सोलार सबैभन्दा सजिलो तथा उपयोगी हुन्छ । घामबाट चल्ने हुँदा यसले पैसा पनि बचत गर्छ । सोलार गार्डेन लाइटमा सोलार ल्याम्प, स्टीललेस लाइट, कपर सोलार लाइट,सोलार प्याटिबो लाइट, सोलार पाथवे लाइट, सोलार वाल माउट लाइट तथा सोलार स्पट लाइटलगायत पर्दछन् ।

 

तिहारका लागि फूल

 

 

तिहारमा रोटी, मिठाई र देउसी–भैलोको जति महत्व छ, त्यति नै महत्व फूलमालाको पनि देखिन्छ । कतिपयले त आफ्ना दाजुभाइका लागि माला गाँस्न पनि सुरु गरिसकेका छन् । तिहारमा खासगरी मखमली, गोदावरी एवम सयपत्री फूलको माला बनाउने परम्परा रहेको छ ।

 

मखमली फूललाई नेपाली फूल मानिन्छ । यसलाई सुपारी फूल पनि भनिन्छ । कहिल्यै नओइलाउने हुँदा भाइटीकामा यसको विशेष महत्व छ । दाजुभाइको दीर्घायुका लागि यो फूलको माला गाँसेर गलामा लगाइदिने चलन परापूर्वकालदेखि चलिआएको हो । त्यस्तै महत्व भएको गोदावरी फूल विभिन्न रंगमा फुल्छ ।

 

पहेँलो, रातो, सेतो र बैजनीजस्ता विविध रंगमा पाइने यस फूलको प्रयोगले सुन्दरता थप्ने काम गर्छ । यस फूललाई घरको भित्री भागको सजावटमा प्रयोग गर्दा आकर्षक देखिन्छ । त्यस्तै सरलताको प्रतिक मानिने सयपत्री फूलले तिहारमा विशेष स्थान ओगट्ने गरेको छ । नेपालमा अमेरिकन तथा फ्रेञ्च गरी दुई प्रकारका सयपत्री फूल पाइन्छन् । सयपत्री फूलले एशियाली देशमा विशेष महत्व पाउने गरेको छ । त्यसमा पनि हिन्दु–नेपालीको दोस्रो ठूलो पर्व तिहारमा यसको महत्व भिन्न स्थानमा रहेको छ ।

तिहारमा आगलागी भइहाले यसरी गर्नुस् नियन्त्रण, यी हुन् सावधानीका उपाय Read Previous

तिहारमा आगलागी भइहाले यसरी गर्नुस् नियन्त्रण, यी हुन् सावधानीका उपाय

२ करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ Read Next

२ करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ