काठमाडौं । आवास कर्जा अथवा ‘होम लोन’ लिने तयारीमा हुनुहन्छ ? अनी कुन बैंकमा कति ब्याजदरमा ऋण पाइन्छ भनेर बुझ्न भौतारिरहनुभएको छ भने चिन्ता नगर्नुस् ।
हामीले सबैभन्दा कम ब्याजदरमा होम लोन दिइरहेका ५ वाणिज्य बैंकहरु र तिनको ब्याजदरको बारेमा प्रस्तुत गरेको छौं ।
नेपाल बैंक
२८ वटा वाणिज्य बैंकहरु मध्येमा नेपाल बैंकले सबैभन्दा सस्तो ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने गरेको पाइएको छ।
बैंकले ७.८४ प्रतिशत आधार दरमा न्यूनतम १ प्रतिशत प्रिमियम थपेर न्यूनतम ८.८४ प्रतिशतदेखि अधिकतम् ९.८४ प्रतिशतसम्ममा आवास कर्जा उपलब्ध गराउँदै आएको छ ।
बैंकले दुई वर्षदेखि पाँच वर्षसम्मको लागि न्यूनतम् ४ लाखदेखि अधिकतम् ५० लाखसम्म आवास कर्जा उपलब्ध गराउने जनाएको छ।
राष्ट्रिय वाणिज्य बैंक
सरकारी स्वामित्वको यस बैंकले नेपाल बैंकपछि सस्तो ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने गरेको पाइएको छ। बैंकले हाउजिङ कर्जा र अपार्मेन्ट कर्जा शीर्षकमा आवास कर्जा प्रदान गर्दै आएको छ ।
बैंकले ६.६ प्रतिशत आधार दरमा न्यूनतम २.४ प्रतिशत देखि ४.९ प्रतिशतसम्म प्रिमियम थपेर न्यूनतम ९ प्रतिशतदेखि अधिकतम् ११.५ प्रतिशतसम्ममा आवास कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकले २० वर्षसम्मको लागि आवास कर्जा उपलब्ध गराउने जनाएको छ।
हिमालयन बैंक
यो बैंकले पनि सस्तो ब्याजदरमा आवास कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकले घर खरिद गर्न, निमार्ण गर्नको लागि आवास कर्जा प्रदान गर्दै आएको छ ।
बैंकले ९.०५ प्रतिशत आधार दरमा शून्य प्रतिशत देखि ५.७५ प्रतिशतसम्म प्रिमियम थपेर न्यूनतम ९.०५ प्रतिशतदेखि अधिकतम् १४.०८ प्रतिशतसम्ममा आवास कर्जा उपलब्ध गराउँदै आएको छ ।
बैंकले ३ वर्षदेखि २० वर्षसम्मको लागि न्यूनतम् ५ लाखदेखि आवास कर्जा उपलब्ध गराउने जनाएको छ। बैंकले धितोको ६० प्रतिशतदेखि ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने गरेको छ ।
सानिमा बैंक
बैंकले घर जग्गा खरिद गर्ने तथा निमार्ण गर्नेहरुलाई सस्तो ब्याजदरमा आवास कर्जा उपलब्ध गराउँदै आएको छ ।
बैंकले ९.२१ प्रतिशत आधार दरमा शून्य प्रतिशत देखि ६ प्रतिशतसम्म प्रिमियम थपेर न्यूनतम ९.२१ प्रतिशतदेखि अधिकतम् १५.२१ प्रतिशतसम्ममा आवास कर्जा उपलब्ध गराउँदै आएको छ ।
बैंकले आवश्यकता अनुसार अधिकतम २५ वर्षसम्मको लागि ग्राहकको माग बमोजिम ३ करोडसम्मको आवास कर्जा उपलब्ध गराउने जनाएको छ।
प्रभु बैंक
बैंकले घर जग्गा खरिद गर्ने तथा निमार्ण गर्नेहरुलाई सस्तो ब्याजदरमा आवास कर्जा उपलब्ध गराउँदै आएको छ ।
बैंकले ९.२४ प्रतिशत आधार दरमा शून्य प्रतिशत देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर न्यूनतम ९.२४ प्रतिशतदेखि अधिकतम् १४.२४ प्रतिशतसम्ममा आवास कर्जा उपलब्ध गराउँदै आएको छ ।
बैंकले आवश्यकता अनुसार अधिकतम २५ वर्षसम्मको लागि ग्राहकको माग बमोजिम आवास कर्जा उपलब्ध गराउने जनाएको छ।
होम लोन लिँदा आवश्यक पर्ने काजपत्रहरुः
होम लोन लिनका लागि केही सामान्य प्रक्रिया पूरा गर्नुपर्छ । धेरै मानिसहरु प्रक्रिया नबुझेकै कारण १ महिनादेखि ३ महिनासम्म समय खर्चिने गर्दछन् ।
त्यसैले होम लोन लिन जाँदा निम्न उल्लेखित कागजपत्र पहिल्यै जुटाउनुभयो भने तपाईंको प्रक्रिया छिट्टै सकिन्छ र चाँडै ऋण प्राप्त गर्न सक्नुहुनेछ ।
१. बैना पट्टाको कागज
२. जो सँग किन्न लागेको उसको नागरिकता
३. लालपुर्जा र तिरो तिरेको रसिद
४. किन्ने मान्छेको नागरिकता
५. आयको स्रोत
६. चार किल्ला, नक्सा ट्रेस
आयस्रोत देखाउँदा व्यवसाय भए कर तिरेको रसिद मार्फत पनि आय देखाउन सकिने छ । जागिर गर्नेले तलब खुल्ने कागजपत्र, बैंक स्टेटमेन्ट देखाउनु पर्नेछ ।
त्यसरी स्रोत देखाउँदा आय स्रोत नपुगेमा परिवारका सदस्यको तलब वा आम्दानीबाट पनि आय स्रोत देखाउन सकिन्छ ।
खरिद गर्न लागेको घर बहालमा दिने हो भने त्यसलाई पनि आम्दानीको स्रोतको रुपमा देखाउन सकिनेछ । व्यवसायबाट आय देखाएको हो भने कर चुक्ता प्रमाणपत्र पनि आवश्यक पर्छ ।
यी सम्पूर्ण कागज पत्र पेश गरेको खण्डमा बैंकले इन्जिनियर लगेर घर तथा जग्गा मूल्यांकन गरि ३ दिनदेखि ३० दिनसम्ममा होम लोन उपलब्ध गराउन सक्ने बैंकहरुले जनाएका छन् ।