मर्जरका लागि स्वर्णिम वर्ष २०७९/८०, मेटियो यी २ दर्जन कम्पनीको अस्तित्व

काठमाडौं । आर्थिक वर्ष २०७९/८० नेपालको बैंक तथा वित्तीय क्षेत्रले बिग मर्जरमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । संस्थाहरूको संख्या घटाएर वित्तीय आधार बलियो बनाउन तथा संस्थागत सुशासन कायम गर्ने उद्देश्यले नियामक निकाय नेपाल राष्ट्र बैंकले एकदशक अघि लिएको नीतिले यस वर्ष निकै सार्थकता पाएको हो ।

यसैगरी, बीमा क्षेत्रमा पनि संस्थाको संख्या घटाउने नेपाल बीमा प्राधिकरणको नीतिले सफलता पाएको छ । यसअर्थमा आर्थिक वर्ष २०७९/८० नेपालको वित्तीय क्षेत्रमा मर्जरका लागि स्वर्णिम वर्षको रूपमा दर्ज भएको छ ।

नेपाल राष्ट्र बैंकले २०६८/६९ देखि नै बैंकहरूको संख्या व्यापक रूपले घटाउने नीति अनुरूप पूँजी वृद्धि गरेको थियो । दुई अर्बबाट ८ अर्ब चुक्ता पूँजी बढाउँदा समेत वित्तीय संस्थाको संख्या मर्जर तथा एक्वीजिसनमा खासै सफलता हासिल भएको थिएन् । त्यसपछि राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा जाने संस्थालाई विभिन्न छुट सुविधाको व्यवस्था गरेको थियो ।

सहुलियत व्यवस्थापछि बिग मर्जरमा आकर्षण देखिए पनि बैंकहरू गाभिन तयार थिएनन् । तर, यस वर्ष भने एकैपटक आधा दर्जन बढी वाणिज्य बैंककै अस्तित्व समाप्त भएको छ ।

मर्जरमा राष्ट्र बैंकले यो वर्ष ऐतिहासिक सफलता हासिल गरेसँगै छुट सुविधाको व्यवस्था पनि हटाएको छ । सम्झौता गरेका सबै संस्थाले एकीकृत कारोबार समेत यही वर्ष गरिसकेका छन् ।

यसैगरी, लघुवित्त वित्तीय पनि मर्जरमा सहभागि भइरहेका छन् । यो नीतिले बीमा कम्पनीको मर्जरमा समेत सफलता पाएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले गत वर्ष चैतमा जीवन र निर्जीवन बीमा कम्पनीको साढे दुई गुणाले पूँजी वृद्धि गरेर मर्जरको बाटो खुला गरिदिएको थियो । उक्त नीतिले अहिले दर्जन बीमा कम्पनीको अस्तित्व समाप्त भइसकेको छ ।

वाणिज्य बैंकको संख्या २० वटामा झर्यो

चालु वर्षमा मात्रै मर्जर तथा प्राप्ति प्रक्रियामा गएर ६ वाणिज्य बैंकको अस्तित्व समाप्त भएसँगै यो संख्या २० कायम भएको छ । २०७८ असार मसान्तसम्म नेपालमा वाणिज्य बैंकको संख्या २७ थियो । गत पुसमा मात्र आठवटा वाणिज्य बैंक मर्जर र प्राप्तिमा गएका थिए ।

कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक एकापसमा गाभिएर ‘कुमारी बैंक लिमिटेड’, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एकापसमा गाभिएर ‘ग्लोबल आइएमई बैंक लिमिटेड’, प्रभु बैंक लिमिटेडले सेन्चुरी बैंकलाई एक्विजिसन गरेर ‘प्रभु बैंक लिमिटेड’ र मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिएर ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’ बनेका थिए ।

त्यस्तै, गत फागुनमा हिमालयन बैंकले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेको थियो । गत साता मात्रै लक्ष्मी र सनराइज बैंकले लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गरेको छ ।

यसअघि गत आर्थिक वर्ष नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेको थियो । त्यस्तै, ग्लोबल आइएमई बैंकले २०७० चैतमा कमर्ज एन्ड ट्रस्ट बैंक र २०७६ मङ्सिरमा जनता बैंक गाभेको थियो । २०७० साल असारमा एनआइसी बैंक र बैंक अफ एसिया गाभिएर एनआइसी एसिया बैंक बनेको थियो । प्रभु बैंकले २०७१ भदौमा किस्ट बैंक र २०७२ फागुनमा ग्रान्ड बैंक गाभेको थियो ।

एक दशकअघि वाणिज्य बैंकको संख्या ३२ पुगेकोमा मर्जर तथा प्राप्तिको प्रक्रियापछि यो संख्या घट्दैगएको छ । राष्ट्र बैंकले २०२२ मा सार्वजनिक गरेको ‘नेपालमा बैंक तथा वित्तीय संस्थाको उपयुक्त संख्या (अप्टिमल नम्बर अफ बैङ्कस एन्ड फाइनान्सियल इन्स्टिच्युसन इन नेपाल) अध्ययन प्रतिवेदनले नेपालमा ११ देखि १५ वटासम्म वाणिज्य बैंक भए पुग्ने निष्कर्ष निकालेको थियो ।

जसअनुसार पनि वाणिज्य बैंकको संख्या आगामी दिनमा अझै घट्ने आकलन गरिएको छ । राष्ट्र बैंकले भने एकदशअघि देखिको यस प्रयासलाई सफलताको रूपमा लिएकोे छ ।

११ बीमा कम्पनीको मेटियो अस्तित्व

गत वर्षसम्म १९ वटा जीवन र २० वटा निर्जीवन गरी ३९ वटा बीमा कम्पनी रहेकोमा प्राधिकरणको पूँजी वृद्धि नीतिले एक दर्जन कम्पनीको अस्तित्व मेटिएको छ । यो वर्षको असार मसान्तसम्म आइपुग्दा जीवन र निर्जीवन बीमा कम्पनीको संख्या २८ कायम भएको छ ।

यो वर्ष जीवनतर्फ ९ बीमा कम्पनी मर्जरमा गएर पाँच कम्पनीको अस्तित्व मेटिएर यो संख्या १४ कायम भएको छ । प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ मर्ज भई वैशाखदेखि हिमालयन लाइफ इन्स्योरेन्स बनेको छ ।

त्यस्तै, सूर्य लाइफ र ज्योति लाइफ मर्ज भई पुसदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरे । रिलायन्स र सानिमा लाइफ मर्जर भएर सानिमा रिलायन्स बनेको छ । प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जर भएर प्रभु महालक्ष्मी लाइफ भएको छ ।

निर्जीवन बीमातर्फ १२ कम्पनी मर्जरमा गएकोमा ६ कम्पनीको अस्तित्व मेटिएर १४ कायम भएका छन् । आइएमई जनरल र प्रुडेन्सियल मर्ज भई ‘आइजीआई प्रुडेन्सियल’, एभरेष्ट र हिमालयन मर्ज भई ‘हिमालयन एभरेष्ट’, सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई ‘सानिमा जीआइसी’, सगरमाथा र लुम्बिनी इन्स्योरेन्स मर्ज भई ‘सलिको’ र प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स मर्ज भई ‘सिद्धार्थ प्रिमियर’ कायम भएका छन् । यस्तै, अजोड र युनाइटेड इन्स्योरेन्स मर्ज भएर ‘युनाइटेड अजोड’ कम्पनी बनेको छ ।

वर्ष २०७९/८० मा डेढ दर्जन लघुवित्त मर्जरमा गए । यस वर्ष साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त, नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त, डिप्रोक्स र आदर्श लघुवित्त, आशा र राष्ट्र उत्थान लघुवित्त, नयाँ सारथी र विजय लघुवित्त, धौलागिरी र खप्तड, सीवाइसी लनेपाल र आँधिखोला लघुवित्त, यूनिक नेपाल र घोडाघोडी लघुवित्त मर्ज भए ।

 

नागरिक लगानी कोषले बचतकर्तालाई थप १.५% प्रतिफल दिने Read Previous

नागरिक लगानी कोषले बचतकर्तालाई थप १.५% प्रतिफल दिने

सानिमा बैंकले पायो आइएसओ प्रमाणपत्र Read Next

सानिमा बैंकले पायो आइएसओ प्रमाणपत्र