काठमाडौं । साउन १ गतेदेखि लागू हुनेगरी वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर तोकेका छन् । बैंकर्स संघले ब्याजदर निर्धारणमा गर्दै आएको कार्टेलिङ खारेज गरेसँगै बैंकहरू आफूखुसी ब्याजदर निर्धारण गरेका हुन ।
यसअघि भद्र सहमतिका नाममा बैंकले एउटै ब्याजदर तय गर्दै आएका थिए । साउन महिनाका लागि ४ बैंकले ब्याजदर बढाएका छन् भने ९ बैंकले घटाएका छन् । ७ बैंकले भने स्थिर राखेका छन् ।बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिए पनि केही बैंकले निक्षेपको ब्याजदर बढाएका हुन् ।
बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत निक्षेपको ब्याजदर एनएमबी बैंकले सबैभन्दा धेरै १०.९८ प्रतिशतत तोकेको छ । यस बैंकले संस्थागत मुद्दतीको ब्याज ७.९९ प्रतिशत निर्धारण गरेको छ ।
बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर समयवधिको आधारमा तोकेका छन् । ३ महिनासम्मको मुद्दतीलाई कम र १ वर्ष बढीको मुद्दतीलाई धेरै ब्याज दिएका छन् ।
एनएमबीले असारकोभन्दा साउनमा ब्याजदर बढाएको हो । असारमा सबै बैंकको ९.९९ प्रतिशत मुद्दती निक्षेपको ब्याजदर थियो । नेपाल राष्ट्र बैंकले तत्काल दिँदै आएको ब्याजदरमा १० प्रतिशतसम्म घटाउन वा बढाउन सक्ने व्यवस्था गरेको छ ।
सोही अनुसार केही बैंकले ब्याज घटाएका छन् भने केहीले बढाएका छन् । प्राइम कमर्सियल, नबिल र कुमारी बैंकले ब्याजदर बढाएका छन् । यसैगरी, कृषि विकास बैंक, स्ट्यान्डार्ड चार्टर्ड, एभरेष्ट, सिद्धार्थ, प्रभु, माछापुच्छ्रे, नेपाल र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर घटाएका छन् ।
आधा दर्जन बैंकले ब्याजदर स्थिर राखेका छन् । इन्भेष्टमेन्ट मेगा, हिमालयन एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आइएमई र सिटीजन बैंकले निक्षेपको ब्याजदर स्थिर ९.९९ प्रतिशत राखेका हुन ।
वित्तीय प्रणालीमा तरलता अधिक भए पनि निक्षेप बढाउन चाहने बैंकले ब्याजदर बढाएका छन् भने निक्षेप अधिक भएकाहरूले घटाएका छन् ।