काठमाडौं । अपर मोदी-ए जलविद्युत आयोजना निर्माणका लागि ठेक्का आह्वान भएको छ । मोदी जलविद्युत कम्पनी लिमिटेडले ४२ मेगावाट उक्त जल विद्युत् आयोजनाको हाइड्रोमेकानिकल र सिभिल संरचना निर्माणका लागि ठेक्का आह्वान गरेको हो ।
इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन (ईपीसी) मोडलमा आयोजना निर्माणका लागि इच्छुक कम्पनीले भदौ २८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यो मोडलमा ठेक्का पाउने कम्पनीले डिजाइनदेखि निर्माण र सञ्चालनसम्मको काम गर्नुपर्नेछ ।
यो हाइड्रोपावर आयोजना कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण हुनेछ । यस ठेक्का आयोजनाको मूल्यांकन ५ महिना भित्र सम्पन्न गरिने कम्पनीले जनाएको छ । कम्पनीले यो ठेक्का लगतै प्रसारणलाइनको समेत ठेक्का निकाल्ने तयारीमा गरेको छ ।
उत्पादित विद्युतलाई करिब ११ किलोमिटर प्रसारणलाइन निर्माण गरेर नेपाल विद्युत् प्राधिकरणको न्यू मोदी सबस्टेसनमा जोडिनेछ ।
ठेक्का लागेको १ महिनामा निर्माण सरु गर्ने उक्त आयोजना निर्माण गर्न १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ४ वर्षमा उत्पादन सुरु गर्ने योजना सहित निर्माण थालनी गर्न लागिएको यस आयोजनामा एनएमबी बैंकको नेतृत्वमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) लगानी गर्नेछ । आयोजना लगानीका लागि २०७८ चैतमा एचआइडीसीएल, एनएमबी बैंक र कम्पनीबीच सम्झौता भइसकेको थियो ।
गत वर्ष नै आयोजना निर्माणका लागि ठेक्का आह्वान भए पनि प्राविधिक समस्या भएको भन्दै ठेक्का रद्द गरिएको थियो । आयोजनाका लागि ६ किमी सरुङमार्ग, पावर हाउस, पहुँचमार्ग र सडक निर्माणको काम गर्नुपर्नेछ ।