कृषि क्षेत्रमा बैंकहरूको झन्डै ६ खर्ब लगानी, कुनको कति ?

काठमाडौं । कृषि क्षेत्रमा वाणिज्य बैंकहरूले करिब ६ खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कुल ५ खर्ब ७९ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन ।

बैंकहरूले यस अवधिसम्म ऋण लगानी गरेको कुल कर्जाको यो १३.३९ प्रतिशत हो । अनिवार्य क्षेत्रगत कर्जा विस्तार गर्नुपर्ने नियामकीय प्रावधान र कृषि उत्पादनका नाममा मागहुने विभिन्न कर्जाका कारण अन्य क्षेत्रभन्दा कृषिमा बैंकले बढी कर्जा लगानी गरेको देखिन्छ ।

यद्यपि, कृषिका नाममा लगानी भएको कर्जा वास्तविक किसानले नपाएको र पहुँच वालाले दुरुपयोग गरेको भन्ने आशंका छ । अर्कोतिर यस क्षेत्रमा कर्जा विस्तार बढ्दो क्रममा रहे पनि उत्पादन भने बढ्न सकेको छैन ।

सरकारले नै कृषि क्षेत्रको विकासका लागि विभिन्न सहुलियतपूर्ण कर्जा दिने प्रोत्साहन गर्ने लगायत विभिन्न घोषणा गर्ने गरेको छ । सोही कारणले पनि बैंकहरू थप कर्जा लगानीका लागि अग्रसर भइरहेका छन् ।

राष्ट्र बैंकले कर्जा विविधीकरण र उत्पादकत्व वृद्धि गराउन कृषि, हाइड्रोपावर, साना तथा मझौला उद्यम व्यवसाय लगायतका क्षेत्रमा कर्जा लगानीको न्यूनतम सीमा तोकेको छ ।

वाणिज्य बैंकले कुल कर्जा लगानीको २०८० असार मसान्तसम्म न्यूनतम १३ प्रतिशत, २०८१ असार मसान्तसम्म १४ प्रतिशत र २०८२ असारसम्म १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । बैंकहरूले चालु वर्षको चैतमसान्तसम्म औषतमा १३.३९ प्रतिशत प्रवाह गरेका छन् ।

कुन बैंकको कति कर्जा लगानी ?

कृषिमा सबैभन्दा धेरै सरकारी स्वामित्वको कृषि विकास बैंकले लगानी गरेको छ । यस बैंकले कुल ५५ अर्ब रुपैयाँ लगानी गरेको छ । ग्लोबल आइएमई बैंकले ११ प्रतिशत अर्थात ४२ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।

हिमालयन बैंकले ४२ अर्ब, नबिल बैंकले ४१ अर्ब रुपैयाँ कृषिमा ऋण दिएका छन् । सबैभन्दा थोरै माछापुच्छ्रे र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३/१३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया, कुमारी र राष्ट्रिय वाणिज्य बैंकले ३०/३० अर्ब रुपैयाँ बढी लगानी गरेका छन् । नेपाल एसबीआई २४, सिद्धार्थ २३, एनएमबी २२, नेपाल बैंकले २१ अर्ब रुपैयाँ कृषिमा ऋण दिएका छन् ।

यसैगरी, एभरेष्ट १९, प्राइम १८, सानिमा र सिटिजन्स १७ /१७, सनराइज १६ र लक्ष्मी बैंकले १५ अर्ब रुपौयाँ कृषि क्षेत्रमा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

 

असार सकिनै लाग्दा  २६ प्रतिशत मात्र रोपाइँ भयो, कुन प्रदेशमा कति  ? Read Previous

असार सकिनै लाग्दा २६ प्रतिशत मात्र रोपाइँ भयो, कुन प्रदेशमा कति ?

सिबिफिन र एनबीआईले सातै प्रदेशमा व्यवसाय शिखर सम्मेलन गर्ने Read Next

सिबिफिन र एनबीआईले सातै प्रदेशमा व्यवसाय शिखर सम्मेलन गर्ने