सिबिफिन र एनबीआईले सातै प्रदेशमा व्यवसाय शिखर सम्मेलन गर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई)ले सातै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने विषयमा समझदारी गरेका छन् ।

स्थानीय/प्रदेश सरकार र सरोकारवाला संघ/संस्थाहरुसँगको साझेदारीमा २०८० भित्र सबै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन सम्पन्न गर्ने गरी सिबीफीनका अध्यक्ष पवन कुमार गोल्यान र नेपाल बिजनेस इन्स्च्यिुटका कार्यकारी अध्यक्ष विशाल गैरेले सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सिबिफिनका गोल्यानले बैंकिङ क्षेत्रको सुधार, विकास एवं स्तरोन्नति, पूँजी निर्माण, सुरक्षित लगानीका नयाँ क्षेत्रहरुको पहिचान तथा लगानी विस्तार गर्न सम्मेलन गरिने बताए ।

बैंकिङ पहुँच तथा साक्षरता अभिवृद्धि, उत्पादनमूलक, रोजगारमूलक तथा निर्यातमूलक क्षेत्रहरुमा लगानी प्रवद्र्धन, उद्यमशीलता र नवप्रवर्तनको विकास एवं विस्तार, स्वदेशी उत्पादनहरुको प्रवद्र्धन लगायत विषयहरुमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन केन्द्रित रहने उनको भनाइ छ ।

उनले प्रदेश/स्थानीय सरकार, विभिन्न राजनीतिक दलका नेतृत्व, बुद्धिजिवी, उद्यमी/व्यवसायीहरुको सघन सहभागितामा स्थानीय निकायमा रहेका समस्याहरुको उजागर गर्दै संभावनाका क्षेत्रहरुको पहिचान, लगानी विस्तार तथा उद्यमशीलताको विकास गर्न महत्वपूर्ण सघाउ पुग्ने अपेक्षा राखिएको बताए ।

सम्झौता कार्यक्रममा नेपाल बैंकर्स एशोसियशनका अध्यक्ष सुनिल के.सी., डेभलपमेन्ट बैंकर्स एशोसियशन नेपालका अध्यक्ष सुयोग श्रेष्ठ, फेडेरेशन अफ नेपालीज एक्सपोटर्स एशोसियशनकी उपाध्यक्ष देविका बुढाथोकी, फेडेरेशन अफ कम्प्यूटर एशोसियशन नेपालका उपाध्यक्ष उमेश रघुवंशीलगायतको सहभागिता थियो ।

सहभागिहरुले संघीयता लागू भएपछि यो तहको व्यवसाय शिखर सम्मेलन प्रदेशस्तरमा पहिलो पटक आयोजना हुन लागेकोले स्थानीय र प्रदेश सरकारहरुसँगको सहकार्य र साझेदारीमा कार्यान्वयन गर्न सकिने व्यवसायीक परियोजनाहरुलाई विशेष प्राथमिकता दिनुपर्ने बताए ।

अर्थतन्त्रले भोगिरहेका वर्तमान चुनौती र समाधानका लागि सरकार तथा मातहतका निकायहरुमा सुझाव पेश गर्ने, वित्तीय क्षेत्रको सुधार तथा स्तरोन्नति, ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन पुग्ने गरी प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलनले भूमिका निर्वाह गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

नेपाल बिजनेस इन्स्च्यिुटका अध्यक्ष बिशाल गैरेले सम्मेलनमा आयोजक र स्थानीय र प्रदेशसरकार बिच साझेदारी सम्झौता, भिडियो प्रर्दशनी, स्थानीय तहका उद्यमीले उत्पादन गरेको मौलिक उत्पादनहरुको प्रदर्शनी, बैंक तथा वित्तीय संस्थाको लगानी मोडेल र यसबाट प्राप्त हुने उपलब्धि, वित्तीय पहँुच र साक्षरता लगायतका विषयमा छलफल भएर निष्कर्ष निकालिने जानकारी दिए ।

सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र उपाध्यक्ष राजेश उपाध्यायले आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा स्तरोन्नति सहित दिगो र फराकिलो आर्थिक विकासका लागि टेवा पु¥याउने गरी उच्चस्तरीय संजालको निर्माण गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।

स्थानीय र प्रदेशस्तरमा उद्यमशीलता प्रवद्र्धनका लागि प्राथमिकता प्राप्त क्षेत्रको पहिचान, सोको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध विद्यमान अवसर र बजार अवस्थाबारे तथ्यपरक प्रतिवेदन सार्वजनिक गर्ने र उक्त प्रतिवेदन कार्यान्वयनका लागि ३ तहकै सरकारसँग पहल गर्ने सम्मेलनको उद्देश्य रहेको छ ।

उद्योगी÷व्यवसायीले भोगिरहेका समस्या र त्यसको समाधानका सम्बन्धमा तीनै सरकारको उच्च नेतृत्वसँग संवाद गरी समाधानका लागि पहल गर्ने, सरकार र बैंक तथा वित्तीय संस्थाहरुको उपस्थितिमा उद्यम दर्ता तथा परामर्श केन्द्र सञ्चालन गर्ने, वित्तीय संस्थाबाट उत्पादन÷रोजगार÷निर्यातमुलक क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाहका लागि सहजीकरण गरिने सिबिफिनले जनाएको छ ।

दुई दर्जन भन्दाबढी सरोकारवाला संस्थाहरुको साझेदारी रहने उक्त व्यवसाय शिखर सम्मेलन आश्विन दोस्रो हप्ताबाट प्रारम्भ हुनेछन् भने माघ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रदेशको सम्मेलनमा ३० भन्दा बढी वक्ता र करिब ३०० जना उद्यमी÷व्यवसायी तथा सरोकारवालाको उपस्थिति रहने संघको भनाइ छ ।

कृषि क्षेत्रमा बैंकहरूको झन्डै ६ खर्ब लगानी, कुनको कति ? Read Previous

कृषि क्षेत्रमा बैंकहरूको झन्डै ६ खर्ब लगानी, कुनको कति ?

खुकुलो मौद्रिक नीति ल्याउनुपर्छ, राष्ट्र बैंकले स्वायत्तताको दुरुपयोग नगरोस् : अर्थमन्त्री Read Next

खुकुलो मौद्रिक नीति ल्याउनुपर्छ, राष्ट्र बैंकले स्वायत्तताको दुरुपयोग नगरोस् : अर्थमन्त्री