असार सकिनै लाग्दा २६ प्रतिशत मात्र रोपाइँ भयो, कुन प्रदेशमा कति ?

काठमडौं । धान रोप्ने मुख्य समय असार सकिनै लाग्दा एकचौथाई मात्र रोपाइँ भएको छ । सिचाइँ सुविधा भएका क्षेत्रमा रोपाइँ भए पनि मुख्यगरी तराई क्षेत्रमा पानी नपर्दा धान रोपाइँ हुन नसकेको हो ।

यो वर्षको असार २१ गतेसम्म देशभर २६.७१ प्रतिशत मात्र धान रोपाइँ भएको हो । गत वर्ष यतिबेला ४०.०४ प्रतिशत वर्षे धान रोपाइँ भएका थियो ।

वर्षे धान रोपाइँ हुने कुल १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमध्ये ३ लाख ६२ हजार ६२५ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले यो वर्ष मनसुन ढिला सुरु भएकोले धान रोपाइँ कम हुन गएको बताए । उनले आकाशे पानीमा भर पर्नु पर्ने क्षेत्रमा रोपाइँ हुन नसकेको बताए ।

‘मयो वर्ष मनसुन ढिला सुरु भयो, वर्षेधानको खेती आकाशे पानीमा निर्भर छ, त्यसले गर्दा पनि खेती कम भएको देखिएको हो, साउनसम्म धेरै ठाउँमा धान रोपाइँ सकिने छ,’ उनले चाणक्य पोष्टसँग भने ।

कुन प्रदेशमा कति धान रोपाइँ भयो

मधेश प्रदेशमा यो वर्ष ९.५३ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । सो प्रदेशमा वर्षे धान खेती योग्य जमिन ३ लाख ५४ हजार ३८३ हेक्टर रहेको छ । सो मध्ये ३३ हजार ७७३ हेक्टरमा रोपाइँ सकेको हो । गत वर्ष सोही अवधिमा ३० प्रतिशत धान रोपाइँ सकेको थियो ।

गण्डकी प्रदेशमा १७.५५ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ६२ प्रतिशत धान रोपाइँ भएको थियो । यस्तै, बागमती प्रदेशमा यो वर्ष ३० प्रतिशत मात्र धान रोपाइँ भएको छ । कुल १ लाख १३ हजार ८३ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल मध्ये ३४ हजार ८०७ हेक्६र क्षेत्रफलमा रोपाइँ भएको हो ।

यसैगरी, लुम्बिनी प्रदेशमा २४ प्रतिशत धान रोपाइँ भएको छ । सोही अवधिसम्म गत वर्ष ५३ प्रतिशत धान रोपाइँ भएको थियो । कुल ३ लाख ३९२ हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ हुनुपर्नेमा ७३ हजार ३८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको हो ।

यस्तै, कर्णाली प्रदेशमा यो असार २१ गतेसम्म ४५ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । कुल ३८ हजार ७२७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने भए पनि १७ हजार ४३५ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको हो ।

सुदूरपश्चिम प्रदेशमा ४८ प्रतिशत धान रोपाइँ भएको छ । कुल १ लाख ७१ हजार ४७६ हेक्टरमा धान रोपाइँ हुनुपर्नेमा ८३ हजार ९७२ हेक्टरमा मात्र धान रोपाइँ भएको हो ।

कोशी प्रदेशमा गत वर्ष ३१.९६ प्रतिशत धान रोपाइँ भएको थियो । यो प्रदेशमा २ लाख ७५ हजार १३३ क्षेत्रफलमा धान रोपाइँ योग्य जमिन रहेको छ । हालसम्म १ लाख ८९१ हेक्टरमा धान रोपाइँ सकिएको छ ।

२ वर्षमा पनि सुरू भएन मेलम्ची खानेपानीको मुहान पुग्ने सडक निर्माण Read Previous

२ वर्षमा पनि सुरू भएन मेलम्ची खानेपानीको मुहान पुग्ने सडक निर्माण

कृषि क्षेत्रमा बैंकहरूको झन्डै ६ खर्ब लगानी, कुनको कति ? Read Next

कृषि क्षेत्रमा बैंकहरूको झन्डै ६ खर्ब लगानी, कुनको कति ?