बङ्गलादेशसँगको २२ वर्षे व्यापार: पछिल्लो ५ वर्ष निरन्तर घाटामा, समग्रमा नेपाल नाफामा

काठमाडौं । सबैभन्दा नजीकको तेस्रो मुलुक बङ्गलादेशसँगको व्यापार सन्तुलनमा पाँच वर्षयता निरन्तर घाटा व्यहोर्नु परे पनि पारवहन मार्ग खुलेयताको २२ वर्षमा भने नाफा नै भएको छ ।

 

वि.सं. २०५४ भदौ १४ गते नेपाल र बङ्गलादेशबीच पूर्वी नाका काँकडभिट्टाबाट भारतको फूलबारी भन्सार हुँदै बङ्गलादेशको बङ्गलाबन्ध जोड्ने ५४ किलोमिटर लामो स्थल पारवहन मार्गको प्रयोग शुरु भएको थियो ।

 

त्यसयताको २२ वर्षमा नेपालले बङ्गलादेशसँगको व्यापार सन्तुलनमा चार अर्ब ४६ करोड १९ लाख ५२ हजार ४६१ रुपैयाँ नाफा गरेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले जनाएको छ ।

 

काँकडभिट्टास्थित कम्पनीको कार्यालयका सूचना अधिकारी विजय भट्टराईका अनुसार आव २०५४/५५ देखि २०७५/७६ सम्ममा नेपालले सो पारवहन मार्ग भएर ३१ अर्ब ३० करोड ५५ लाख ६९ हजार ८३७ रुपैयाँ मूल्य बराबरको नेपाली मालसामान बङ्गलादेश निर्यात गरेको छ ।

 

सोही अवधिमा बङ्गलादेशबाट रु २६ अर्ब ८४ करोड ३६ लाख १६ हजार ३६७ मूल्य बराबरको मालसामान नेपालमा आयात भएको पाइएको छ । समग्र २२ वर्षमा व्यापारको अवस्था नाफादायी भए तापनि पछिल्लो पाँच वर्षदेखि नेपालको निर्यात बढ्न नसक्दा व्यापारको अवस्था निरन्तर घाटाजनक रहेको छ ।

 

नेपालले बङ्गलादेशसँग अहिलेसम्मको व्यापारमा १० आर्थिक वर्षमा नाफा र १२ वटा आर्थिक वर्षमा घाटा गरेको छ । आव २०५४/५५ देखि २०५९/६० सम्मको छ वर्षमध्ये आव २०५७/५८ को व्यापारमा मात्र पाँच करोड २९ लाख १० हजार ३८७ नाफा भएको देखिन्छ । अरू वर्ष घाटैघाटा भएका छन् ।

 

आव २०६३/६४ देखि बङ्गलादेशबाट आयातभन्दा नेपालबाट निर्यात धेरै हुन थालेको हो । त्यसयता आव २०७०/७१ सम्मको व्यापार सन्तुलनमा निरन्तर आठ वर्ष नेपालले नाफा गरेको छ । आव २०७१/७२ यता हालसम्म नै निर्यातभन्दा आयात बढी रहेको अवस्था छ ।

 

नेपालको निर्यात बढेको अवस्थामा आव २०६५/६६ मा नेपालले चार अर्ब ७९ करोड ५७ लाख ५० हजार ५८ रुपैयाँ बराबरको व्यापार नाफा गरेको थियो । यो नै विगत २२ वर्षे व्यापार यात्रामा सबैभन्दा बढी व्यापार नाफा गरेको वर्ष थियो । अहिले भने व्यापार घाटा बढिरहेको छ । गत आव २०७५/७६ मा नेपालले दुई अर्ब ४१ करोड ३० लाख ३५ हजार ६८० को व्यापार घाटा व्यहोरेको छ ।

 

बङ्गलादेशको बजार भौगोलिक रुपमा नजीक भएको कारण नेपालका उत्पादनहरु छिटो पुर्याउन र त्यसबाट लाभ पाउन सकिन्छ भनेर नै नेपालले काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध पारवहन मार्गको प्रस्ताव भारत र बङ्गलादेश सरकारसँग गरेको थियो । दुवै छिमेकी मुलुकले नेपालको प्रस्ताव मञ्जुर गरेका थिए ।

 

वि.सं. २०५४ भदौ १४ गते पारवहन मार्गको काँकडभिट्टामा भव्य उद्घाटन भएपछि सो आर्थिक वर्षभरिमा नेपालबाट रु ११ लाख ५७ हजार ७६० बराबरको मालसामान मात्र बङ्गलादेश पठाइएको थियो । शुरुकै आर्थिक वर्षमा उता बङ्गलादेशबाट एक करोड ३१ लाख २६ हजार २७४ रुपैयाँ मूल्य बराबरको सामान आयात भएको थियो । व्यापार घाटा पहिलो वर्षबाटै शुरु भएको थियो ।

 

नेपालले आव २०७५/७६ मा बङ्गलादेशतर्फ मुसुरो दाल, अम्लिसो कुचो, कत्था, प्लाइउड, पिना, टमाटर, फलफूल, हजमोला, गहुँको ब्रान, चिराइतो, ग्लुकोज लगायतका १७ प्रकारका मालसामान निर्यात गरेको मेची भन्सार कार्यालयले जनाएको छ । सोही अवधिमा नेपालले बङ्गलादेशबाट १५१ प्रकारका मालवस्तु आयात गरेको देखिएको मेची भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारीले बताए ।

 

बङ्गलादेशबाट सबैभन्दा बढी मात्रामा हलुका पेय पदार्थजन्य वस्तु आयात हुने गरेको छ । दर्जनभन्दा बढी प्रकारका हलुका पेय पदार्थ नेपालमा आउने गरेका कारण नेपाली उत्पादन मारमा परेको समेत नेपाली व्यवसायीहरुको गुनासो रहँदै आएको छ ।

 

बङ्गलादेशबाट सोलार उपकरण, रनर, मोटरसाइकल, कागज, तयारी कपडा, जुट, मकै, आलुचिप्स, चकलेट, कमोड, नेप्किन, पानीका बोतल, ब्याट्री, औषधि, केमिकल, स्पेयर पार्टस, नरिबल तेललगायतका सामान आयात हुने गरेको छ । यसमा सबैभन्दा बढी जुस र लत्ताकपडाका प्रकार रहेका छन् ।रासस

आइएमईको ‘डबलको डबलको डबल’ अफरको सातौं हप्ताको विजेता घोषित Read Previous

आइएमईको ‘डबलको डबलको डबल’ अफरको सातौं हप्ताको विजेता घोषित

निजगढ विमानस्थल निर्माणमा वन बाधक, ५ वर्ष बित्यो दिएन स्वीकृति Read Next

निजगढ विमानस्थल निर्माणमा वन बाधक, ५ वर्ष बित्यो दिएन स्वीकृति