अघि बढ्दै कैलाली सेज निर्माण, रुख कटान थालिँदै

काठमाडौं । सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण प्रक्रिया अघि बढाउने भएको छ । सरकारले कैलालीको गोदावरी नगरपालिका (वडा नं. ७ र ८ मा)स्थित २३१.८६ हेक्टर क्षेत्रमा सेज निर्माण प्रक्रिया अघि बढाएको हो ।

सरकारले हरैया सामुदायिक वन, शान्ति महिला सामुदायिक वन, लक्ष्मी सामुदायिक वन र गोलादेउ सामुदायिक वनको जग्गामा कैलाली सेज निर्माण गर्न लागेको हो । सो वनभित्रको सेज क्षेत्र निर्माण गर्न वातावरणीय प्रभाव मूल्याकंन (ईआइए)को काम समेत पूरा भइसकेको जनाइएको छ ।

सेज निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) भइसकेको विशेष आर्थिक क्षेत्र प्राधिकरणका इन्जिनीयर सागर सिलवालले बताए । उनका अनुसार उक्त स्थानमा वन लिनका लागि वन विभागसँग समेत स्वीकृती प्राप्त भइसकेको छ ।

‘सेज निर्माणका लागि डीपीआर बनिसकेको छ, हालै ईआइए पनि स्वीकृत भएको छ, अब वन हटाउन सरकारी प्रकृया हुन्छ, वनको काम झनै झन्झटिलो भएकोले सजिलो छैन,’ सिलवालले चाणक्य पोष्टसँग भने ।

यस सेज क्षेत्र भित्र ७ प्रकारका ८० वटा प्लट निर्माण गरिने डीपीआरमा उल्लेख छ । बालबच्चाको सामग्री उद्योग, प्लाष्टिक उद्योग, मिल, चाउचाउ, दुग्ध पदार्थ सामग्री र खानेकुरा उद्योग, कागज उद्योग, विद्युतीय सामग्री उद्योग, गार्मेन्ट र अर्नामेन्ट उद्योग, निर्माण सामग्रीहरू र टेक्सटाइल उद्योग सञ्चालन हुनेगरी डीपीआर निर्माण गरिएको छ । यसबाहेक आयोजना क्षेत्रमा सर्भिस बिल्डिङहरू, सडक निर्माण र हरित क्षेत्र निर्माण गरिने उल्लेख छ ।

यस्तै, विराटनगरमा विशेष आर्थिक क्षेत्र निर्माणका लागि जग्गा प्राप्तिको काम भइरहेको छ । साल्ट ट्रेडिङको जग्गामा सेज निर्माण गर्ने तयारी भइरहेको हुँदा छलफलको चरणमा रहेको उनले बताए ।

सेजभित्र सञ्चालनमा आउने उद्योगले उत्पादनको ६० प्रतिशत विदेश निकासी गर्नुपर्ने प्रावधान छ । उद्योगको प्रकृति हेरेर कतिपय उद्योगले एक वर्षदेखि दुई वर्षभित्र विदेश निकासी गर्ने सम्झौता हुन्छ ।

 

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

नागरिक लगानी कोषको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

नागरिक लगानी कोषको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?