वित्तीय संस्था विरुद्धका गतिविधिले सेवा बन्द गर्नुपर्ने अवस्था आउन सक्छ : सीबीफीन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले वित्तीय क्षेत्र विरुद्ध विभिन्न गतिविधि भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै सरकारबाट वित्तीय संस्था विरुद्धका गतिविधिको नियन्त्रण र सुरक्षाको सुनिश्चिता नभए संस्थाहरुले आफ्नो सेवा पूर्ण रुपमा बन्द गर्नुपर्ने अवस्था आउने बताएको हो ।

वित्तीय संस्था र तिनमा कार्यरत कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन संघले सरकारसँग माग गरेको छ । ‘यदि निर्वाध रुपमा सुरक्षित वातावरणमा प्रचालित ऐन, कानुनद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदत्त अधिकारको प्रयोग गर्दै सोही बमोजिम निर्देशित बैंक तथा वित्तीय संस्थाहरुले बहन गर्नुपर्ने कर्तव्य तथा जिम्मेवारी पूरा गर्न सहज हुने वातावरणको सुनिश्चितता नेपाल सरकार र सो अन्र्तगतका निकायहरुबाट हुन नसक्ने हो भने नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सेवा पूर्ण रुपमा बन्दै गर्नुपर्ने परिस्थिति सृजना हुन सक्नेतर्फ सचेत गराउँदछौं,’ संघले भनेको छ, ‘यसबाट आम निक्षेपकर्ता, ऋणी लगायत सम्पूर्ण सरोकारवालाहरुको हक, हित संरक्षण तथा सम्बद्र्धनमा गम्भीर संकट उत्पन्न हुने र अन्ततोगत्वा समग्र अर्थतन्त्रमा अकल्पनीय संकट सृजना हुने भएकोले नेपाल सरकारलगायत सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

बिहिवार बसेको संघको सातौं बैठकले बैंक तथा वित्तीय संस्था, सोेको सम्पत्ति, साख एवम् संस्थामा कार्यरत कर्मचारीहरुको विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समूहबाट भइरहेको भौतिक आक्रमण एवम गैरकानूनी गतिविधिहरुको सम्बन्धमा एकबद्ध भएर कानुनी कदम चाल्ने बताएको छ ।

‘कुनै पनि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पु¥याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने विरुद्ध मुद्दा चलाउने तथा प्रचलित कानुन बमोजिम कडा कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी गर्न सीबीफीन र यसमा आवद्व सबै बैंक वित्तीय संस्थाहरु पूर्ण रुपमा एकताबद्व, प्रतिबद्व र दृढ संकल्पित रहेको विषय सबै सरोकारवालाहरुको जानकारीको लागि सूचित गर्दछौं,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेप्सेमा लगातार उच्च अंकको गिरावट, परिसूचक २१०० बिन्दुभन्दा तल झर्‍यो Read Previous

नेप्सेमा लगातार उच्च अंकको गिरावट, परिसूचक २१०० बिन्दुभन्दा तल झर्‍यो

श्री एयरलाइन्सका जहाजमा किन आइरहन्छ बारम्बार समस्या ? Read Next

श्री एयरलाइन्सका जहाजमा किन आइरहन्छ बारम्बार समस्या ?