श्री एयरलाइन्सका जहाजमा किन आइरहन्छ बारम्बार समस्या ?

काठमाडौं । शनिबार ३:३० बजे काठमाडौंबाट धनगढी उडेको फ्लाइट नं. २२५ को जहाजमा प्राविधिक समस्या आएपछि बीचबाटै काठमाडौं फर्कियो । आफ्ना सबै जहाजको प्राविधिक परीक्षण गर्ने भन्दै एयरलाइन्सले आइतबार सबै उडान रद्द गर्यो ।

कम्पनीले अधिकांश ग्राहकको टिकटको पैसा फिर्ता दियो । अगाडि नै टिकट बुकिङ गरेका यात्रुको फ्लाइट रद्द हुँदा उनीहरू समस्यामा परे । भन्ने बित्तिकै अर्को जहाजको टिकट नपाउँदा र पाइहाले पनि महँगो तिर्न बाध्य भए ।

यसअघि २०८० असार १० गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्रीको जहाजमा समस्या आएपछि काठमाडौंमै अवतरण भएको थियो । बिहान ७:५० बजे उडेको उक्त जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि ८: २० मिनेटमा काठमाडौंमै अवतरण गरिएको थियो ।

त्यस्तै, २०८० जेठ २३ गते मंगलबार काठमाडौं–धनगढी उडानका क्रममा प्राविधिक समस्या आएको श्री एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको थियो । करिब ८० जना यात्रुसहित धनगढी उडान गरेको ९ एन–एएनएफ कलसाइनको टर्बोप्रोप जहाजको ढोकामा ‘इन्डिकेशन’ आएपछि यो जहाज उडेको केही बेरमै काठमाडौं डाइभर्ट गरिएको थियो ।

यी केही प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय श्री एयरलाइन्सका जहाजमा धेरै समस्या देखिन थालेका छन् । वैशाख यता मात्रै अधा दर्जन पटक श्रीका जहाजमा समस्या आइसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेका मापदण्ड पूरा गरेर जहाज उडाउँदा पनि श्रीका जहाजमा बारम्बार समस्या किन आइरहन्छ त ?

श्री एयरलाइन्सका प्रवक्ता अनिल मान्नधरले फ्लाइट गाइडलाइन अनुसार सबै मापदण्ड र प्रक्रिया पूरा गरेर जहाज उडाउँदा कहिलेकाहीँ उडीसकेपछि प्राविधिक समस्या देखिने गरेको बताए । प्राविधिक समस्या कति बेला आउँछ भन्ने निश्चित नहुने भएकाले समस्या देखिएपछि जहाज सुरक्षीत अवतरण गर्ने गरिएको उनले बताए ।

‘हामी विमान उडाउन अघि सबै प्रक्रिया र मापदण्ड पूरा गर्छौं । प्राविधिकहरूले सबै चेकजाँच गर्नु नै हुन्छ,’ उनले भने, ‘तर कहिलेकाँही जहाज उडेपछि समस्या देखिने गरेको छ ।’

कहिलेकाँही मौसमका कारण समेत उडानमा समस्या देखिने गरेको उनले बताए । पछिल्लो समय यस्ता घटना केही बढेकाले कम गर्न प्राविधिकहरूसँग कुराकानी भइरहेको उनले बताए ।

उडिसकेपछि जहाजमा समस्या देखिँदा यात्रुले अनावश्यक दुःख र हैरानी बेहोर्दै आएका छन् । बारम्बार एउटै कम्पनीका जहाजमा समस्या देखिँदा यात्रुमा एयरलाइन्सस प्रतिको विश्वास गुम्दै जाने देखिन्छ ।

जहाजमा प्राविधिक समस्या देखिनु स्वभाविक भए पनि एउटै कम्पनीका जहाजमा बारम्बार समस्या देखिँदा यात्रुमा कम्पनीप्रति नै अविश्वास जाग्ने हवाई विज्ञहरू बताउँछन् । उडान अघि जहाजको चेकजाँचमा केही हेलचेक्र्याइँ र त्रुटी हुँदा पनि पछि समस्या देखिने गरेको उनीहरूको भनाइ छ ।

श्रीले हाल ९ वटा जहाजमार्फत देशका विभिन्न गन्तव्यमा उडान भर्दै आएको छ । श्रीसँग हाल कम्पनीले क्यू ४०० ड्यास ८, सीआरजे–२००, सीआरजे–४०० लगायत सिरीजको जहाज रहेका छन् ।

 

वित्तीय संस्था विरुद्धका गतिविधिले सेवा बन्द गर्नुपर्ने अवस्था आउन सक्छ : सीबीफीन Read Previous

वित्तीय संस्था विरुद्धका गतिविधिले सेवा बन्द गर्नुपर्ने अवस्था आउन सक्छ : सीबीफीन

अब ऋण लेनदेन गर्दा स्थानीय तहबाट प्रमाणीकरण गर्नुपर्ने Read Next

अब ऋण लेनदेन गर्दा स्थानीय तहबाट प्रमाणीकरण गर्नुपर्ने