काठमाडौं । नेपाली उद्योगी व्यवसायीले नै देशभित्र अन्तर्राष्ट्रिय गुणस्तरको टायल उत्पादन सुरु गरेका छन् । सरकारले लिएको औद्योगिककरणको नीति तथा हरेक क्षेत्रमा आत्मनिर्भर बन्ने उद्देश्यलाई सफल बनाउन प्राइम सेरामिक्सले ‘प्राइम टायल’को उत्पादन सुरु गरेको हो ।
लामो समयदेखि नेपालमा टायल तथा सोही प्रकृतिका सामान आयात गरेर व्यापार गर्दै आएका व्यवसायीहरु आशीष गर्ग, प्रशान्त अग्रवाललगायतले मधेस प्रदेशको रौतटहमा प्राइम सेरामिक्स उद्योग स्थापना गरेका हुन् ।
कुल रु २ अर्ब लगानीमा स्थापना गरिएको उद्योगले हाल तीनसयलाई रोजगारी समेत दिएको प्राइम सेरामिक्सका अध्यक्ष गर्गले जानकारी दिए। ‘अब ट्रेडर्स होइन, उद्योगी बन्नुपर्छ भन्ने सोचका साथ उद्योग स्थापना गरेका हौँ । यसमा सरकारको नीतिले पनि साथ दिएको छ,’ उनले भने, ‘सानो मात्रामा भएपनि देशभित्रै रोजगारी सिर्जना गर्ने र विदेशी मुद्रा स्वदेशमा नै राख्ने उद्देश्य राखिएको छ ।’
नेपालमा हाल अधिकांश टायल भारतबाट आयात हुने गरेको छ । नेपाली कला, संस्कृतिअनुसारको टायल बनाइने भएकाले आफूहरुको उत्पादनले बजार विस्तारका साथै राष्ट्रिय मर्मलाई समेत सम्बोधन गर्ने उद्योगका प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए।
नेपालीको सुन्दर घरको सपनालाई साकार पार्ने तथा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको जानकारी दिँदै उनले प्राइम सेरामिक्स उद्योगको दैनिक डेढ लाख वर्ग फिट टायल उत्पादनको क्षमता राखे ।
नेपाली माटो, नेपाली सिमेन्टलगायत झण्डै ५० प्रतिशत कच्चा पदार्थ समेत आन्तरिक नै प्रयोग हुने भएकाले विदेशी टायलभन्दा सस्तो पर्ने समेत प्रबन्ध निर्देशक अग्रवालको भनाइ छ । रौतटहको बृन्दावन नगरपालिका–६ मा १० विघा क्षेत्रफलमा स्थापित उद्योग स्थापना गर्नुको पछाडि दुई दशकदेखि नै टायल व्यापारको अनुभवले पनि काम गरेको उनको भनाइ छ ।
उद्योगले टायलको आयात प्रतिस्थापन गर्ने, विदेशी मुद्रा बाहिरनबाट रोक्ने, रोजगारीको सिर्जना गर्ने उद्देश्य लिएको अध्यक्ष गर्गको भनाइ छ । उर्जा उद्यमी समेत रहेका गर्गले आन्तरिक रुपमा उत्पादन बढाउने सरकारको नीति भएपनि व्यवसायीलाई थप सहजीकरण गरिदिन सरकारसँग माग गरे ।
नेपालबाट वार्षिक रु १५ अर्ब बराबरको रकम टायल खरिदका लागि विदेशिने गरेको भन्सार विभागको तथ्याङ्क छ ।